पश्चिमा देशहरूबाट शुरु भएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकै झाङ्गिएको पाइन्छ । भ्यालेन्टाइन डे आफैमा एक रोमान्टिक दिन हो र यो प्रेममय दिन हो । यो प्रणय दिवससँग विभिन्नखाले कथा तथा इतिहास जोडिएका छन् र यस विषयमा विभिन्नखाले तथ्यहरू पनि छन् । कतिपय तथ्यहरू हामीले नसुनेका पनि हुन सक्छौँ र सुन्दै रोचक लाग्दछ ।

– तपाईंलाई थाहा छैन होला, नाटककार शेक्सपियरको चर्चित लभस्टोरी रोमियो एण्ड जुलिएटकी नायिका जुलियटको घरमा हरेक वर्ष भ्यालेन्टाइन डेको दिन हजारौँ चिठीहरू पठाइन्छन् । इटालीको भ्यारोनामा जुलियटको काल्पनिक गाउँ छ । दुनियाँभरबाट यो गाउँमा जुलियटलाई सम्बोधन गरी प्रेमपत्रहरू आउँछन् ।

– भ्यालेन्टाइन डे को दिन विश्वमा औषतमा २ लाख २० हजार जना मानिसले आफ्नो पार्टनरलाई बिहेको प्रस्ताव गर्दछन् । प्रेमको प्रस्ताव गर्नेहरूको सङ्ख्याको त गणना नै छैन ।

– भ्यालेन्टाइन डे को दिन विश्वमा १ अर्ब कार्ड आदान–प्रदान हुन्छन् । क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्षपछि सबैभन्दा बढी कार्ड आदान–प्रदान हुने दिन यही नै हो ।

– भ्यालेन्टाइन डे को दिन अमेरिकामा मात्रै एक अर्ब डलर बराबरको चकलेट खरिद–बिक्री हुन्छ । यो दिन मुटु आकारको साढे ३ करोड चकलेट बक्स बिक्री हुन्छन् ।

– भ्यालेन्टाइन डे को दिन अमेरिकामा मात्रै १९ करोड बराबरको गुलाबको फूल किनबेच हुन्छ ।

– गुलाबको फूललाई इटालीको रोममा प्रेमको देवीको मनपर्ने फूल पनि भनिन्छ ।

– भ्यालेन्टाइन डे मा गुलाब खरिद गर्नेमा सयमा ७३ प्रतिशत पुरुष हुन्छन् । त्यस्तै अन्य भ्यालेन्टाइन गिफ्ट खरिद गर्नेमा सयमा ८५ जना महिला हुन्छन् ।