नेपाली फिल्म क्षेत्रमा सङ्घर्षरत धराने नायिका मिरुना मगर एकपछि अर्को फिल्ममा छाउन थालेकी छन् ।
नेपालकी प्रथम नायिका भुवन चन्दले निर्माण गरेको फिल्म ‘साइनो’ मा मिरुनाले अभिनय गरेकी छन् । साइनोको ‘मायालुलाई जात्रैमा भेटियो’ हालै रिलिज भएको छ । त्यसबाट मिरुनाले राम्रै प्रतिक्रिया पाएकी छन् ।
यसअघि मिरुनाले अभिनय गरेको फिल्म रोजीबाट पनि दर्शकले उनको अभिनय कला मन पराए । केही वर्षअघि काठमाडौंमा नाटक ‘कथादेश ३’ मा अभिनय गरेपछि चर्चा कमाएकी मिरुनाले त्यसपछि ‘लालपुर्जा’ फिल्ममा सौगात मल्लसँग नायिकाका रूपमा अभिनय गरेकी थिइन् ।
एक्टर्स स्टुडियोमा अभिनय प्रशिक्षण लिएर नाटक तथा फिल्ममा पाइला चालेकी मिरुना अभिनयबाटै स्थापित हुन चाहन्छिन् । सानैमा धरानमा ‘किड्क्विन’ प्रतियोगिता जितेकी मिरुनाले ‘क्याबिन गर्ल’ फिल्ममा पनि बालकलाकारका रूपमा अभिनय गरेकी थिइन् । धरानबाट परिवारसँगै बेलायत पुगेकी उनले बेलायतमै ‘वे आउट अफ माई लिग’ नामक सर्ट फिल्ममा पनि अभिनय गरेकी थिइन् ।
आमा शशी थापा सुब्बाले रङ्गकर्म र फिल्ममा लामो समय बिताएकाले त्यसैबाट आफू प्रभावित भएको मिरुनाको भनाइ छ । उनी भन्छिन् ‘ममीको कलाकारिताबाटै मैले यो क्षेत्रमा नजिक हुने मौका पाएँ । अहिले पनि उहाँकै सल्लाहअनुसार काम गरिरहेकी छु । एउटा सफल कलाकार बन्न चाहन्छु ।’