नेपालका चर्चित र्यापर निर्णय श्रेष्ठ (एनएसके) को परिचय गायनमा मात्र सीमित छैन । उनी गायनसँगै समाजसेवाका काममा पनि सक्रिय छन् । उनले विद्यार्थीहरूका लागि शैक्षिक सामग्री वितरण गर्ने अभियान नै चलाइरहेका छन् ।
सङ्गीतकर्मलाई माध्यम बनाएर सन् २००६ देखि ‘शिक्षा नै जीवनको आधार हो’ भन्ने नारासहित शुरु भयो निर्णय एनएसके टुर फर एजुकेसन । त्यसयता हरेक वर्षजसो उनले देशका विभिन्न ठाउँमा पुगेर बालबालिकालाई सहयोग गर्दै आएका छन् । उनी साङ्गीतिक कार्यक्रम गर्दै किताब–कापी सङ्कलन गर्छन् र ग्रामीणभेगका विद्यार्थीलाई वितरण गर्छन् । उनी एउटा कपी, एउटा पेन्सिल, एउटा इरेजर र एउटा सार्पनर वितरण गरेर ‘एक’ हरूको शक्ति बारे पनि बुझाउन चाहन्छन् । उनी भन्छन्, ‘तीन करोड नेपालीले एक–एक चिज प्रदान गर्ने हो भने त्यो धेरै ठूलो हुन्छ । एक–एक मिलेर सबैलाई सहयोग गर्नु नै मेरो उद्देश्य हो ।’
गायक राजेशपायल राईले सामाजिक कार्य गर्ने उद्देश्यले केही वर्षअघि नै ‘राजेशपायल राई फाउण्डेसन’ खोलेका छन् । नेपाल र अमेरिका दुवै ठाउँमा दर्ता गरेर सञ्चालनमा रहेको फाउण्डेसनले शिक्षा, स्वास्थ्य र विकासका काममा सहयोग गर्र्दै आएको छ । गायक राईले धेरै जना मुटु र मिर्गौला रोगीको उपचारका लागि गाएर सहयोग गरेका छन् भने आर्थिक अभावमा पढ्न नसकेकालाई पढाइदिएका छन् ।
गायक राजु लामाले पनि आफ्नै नाममा फाउण्डेसन खोलेर यस्तै सेवामूलक काम गर्ने गरेका छन् । हाल विदेशमा रहेका लामाले बेला–बेला नेपाल आएर बालबालिकालाई सहयोग गर्ने गरेका छन् । धेरै जना गायक, सङ्गीतकर्मीले यसरी नै व्यक्तिगत र फाउण्डेसन खोलेर समाजमा सेवाभावले काम गरिरहेका छन् ।
देशविदेशका साङ्गीतिक कार्यक्रममा सहभागी हुँदै आएका गायक एपी शेर्पाले आफूले सङ्गीत क्षेत्रबाट आर्जन गरेको कमाइको केही प्रतिशत रकम सेवाकै लागि छुट्याउने गरेका छन् । उनले सङ्खुवासभाका भोटिया महिला समूहको विकासका लागि साङ्गीतिक कार्यक्रम गरेर सहयोग गरे, मिर्गौला पीडितका लागि गाए भने गुम्बा विकासका लागि आर्थिक सहयोग गरे । अपाङ्ग तथा बेसहारा बालबालिकाका लागि आर्थिक र भौतिक सहयोग गर्दै आएका उनी भन्छन्, ‘आफ्नो जन्मदिन पनि यस्तै काममा सहयोग गरेर मनाउने गरेको छु ।’
गायिका प्रकृति थलङले पनि साङ्गीतिक कार्यक्रममा कमाएको पैसामध्ये केही सहयोग गर्ने गरेकी छन् । गायक उदेश श्रेष्ठ, सपन श्रेष्ठ, गायिका प्राश्ना शाक्यलगायतको टोली बाढीपीडित क्षेत्रका विद्यालय र बालबालिकाको सहयोगार्थ साङ्गीतिक अभियानमा सहभागी छन् । यसरी नै अन्य धेरै गायक–गायिकाले सङ्गीतमार्फत् आफूले सकेको सहयोग गर्दै आएका छन् ।
गायिका हर्षु राई आफ्नो र छोरीको जन्मदिन वृद्धाश्रम, बालआश्रमतिरै सहयोग गरेर मनाउँछिन् । बेला–बेला चाडपर्वमा उनी आश्रमका बालबालिका र वृद्धवृद्धालाई लुगा–कपडा किनिदिने र खाना खुवाउने गर्छिन् । उनी भन्छिन्, ‘हामी कलाकार अरूको दुःखमा चाँडो भावुक हुँदा रहेछौँ । त्यसैले केही सहयोग गरौँ भन्ने भावना आउँदो रहेछ ।’