गायिका अञ्जु पन्त नेपाली गायनक्षेत्रमा निक्कै चर्चित छिन् तर फेसनको कुरामा भने आफू ‘कन्सस’ नरहेको बताउँछिन् ।
काठमाडौंको डिल्लीबजारमा ‘कुसुम बुटिक’ को उद्घाटन गर्न पुगेकी उनले भनिन्, ‘म फेसन कन्सस पनि होइन । तर, स्टेज पर्फर्मेन्सले गर्दा फेसन गर्नु परिहाल्छ ।’
अञ्जुलाई स्टेजमा सारी लगाएर प्रस्तुति दिन मन लाग्छ रे । पछिल्लो समय स्टेजमा सारी लगाउनेहरू घट्दै गएकोमा उनको चिन्ता छ । आफू फेसन कन्सस नभए पनि खानापानमा निकै ख्याल राख्न थालेकाले सुन्दरता निखारिएको र वजन घटेको उनले बताइन् ।
उनले रमाइलो गर्दै भनिन्, ‘अहिले त म मेरी छोरीभन्दा पनि सानी देखिन्छु ।’ उनले आफू डाइटिङ भने नगर्ने बताउँछिन् । उनी भन्छिन्, ‘समयमा खानु र सुत्नु नै सबैभन्दा ठूलो स्वास्थ्य हो ।’
अञ्जुलाई अहिलेसम्म कति गीतमा स्वर दिएकोेसमेत यकिन छैन । उनले भनिन्, ‘दैनिक तीनदेखि ६ वटासम्म गाउँदै आएकी छु । अहिलेसम्म त्यस्तै ६ हजार पुग्यो होला ।’