धरान/ गायक महेन्द्र राई र दीपा तामाङ विशेषगरी विदेशमा रहेका नेपालीहरूमाझ परिचित छन् ।
पुराना पुस्ताका गायक गायिकाका गीतलाई ‘कभर’ भर्सनमा गाएर चर्चामा आएका उनीहरू पछिल्लो समय आफ्नै गीत सार्वजनिक गरिरहेका छन् । युट्युब र सामाजिक सञ्जालबाट परिचित भएका महेन्द्र र दीपा अहिले आफू गाउने मात्र होइन, सङ्गीत पनि गर्छन् । उनीहरूको सङ्गीतमा राजेशपायल राई, राजु लामालगायतका चर्चित गायक–गायिकाले पनि स्वर दिइसकेका छन् ।
इलाम, कोल्बुङका उनीहरू २०५३ सालमै गीत रेकर्ड गरेर साङ्गीतिक क्षेत्रमा आएका थिए । महेन्द्र चार वर्षयता दीपासँग ‘कभर सङ’ गाउन थालेपछि साङ्गीतिक क्षेत्रमा चिनिन थाले । ५० हाराहारी गीतमा कभर गाएका उनीहरूले ‘पर्खाइमा’ नामको एल्बम् पनि निकालेका छन् ।
त्यसका लागि उनीहरूले युट्युबमा आफ्नै नाममा ‘महेन्द्र एण्ड दीपा च्यानल’ खोलेका छन् । त्यसैमार्फत् पुराना गायक–गायिकाका गीत गाउँदै सार्वजनिक गर्छन् । महेन्द्र भन्छन्, ‘युट्युबमा कभर सङ सुनेर नै धेरैतिरबाट कार्यक्रममा बोलाउँछन्, अरुका गीतमा सङ्गीत भर्ने अवसर पनि पाइएको छ ।’
कभर सङले चिनाउन थाले पनि दीपा यही क्षेत्रमा राम्रो गर्नका लागि सङ्गीत अध्ययन गरिरहेकी छन् । आफ्नै गीतहरू पनि रेकर्ड गराइरहेकी उनी पनि साङ्गीतिक कार्यक्रममा गाउन धेरै ठाउँ पुगेकी छन् । अहिले काठमाडौंमा बसेर युट्युब च्यानलमार्फत् चिनिदै गरेका उनीहरूले त्यही च्यानलबाट पैसा पनि कमाउन थालेका छन् ।
साङ्गीतिक क्षेत्रमै निरन्तरता दिने उनीहरूको योजना छ । दीपा भन्छिन्, ‘पहिला किसानका छोराछोरीलाई सङ्गीत क्षेत्रमा लाग्न गाह्रो थियो, अहिले प्रविधिको विकासले घरमै गाएर, मोबाइलमा रेकर्ड गरेर सार्वजनिक गर्न सकिँदो रहेछ ।’