ताप्लेजुङको पाथीभरा
उकालो चढ्दा छुट्दो रै’छ पसिना धारा
गायक–सङ्गीतकार भूवन सुप्तिहाङ राईले गतवर्ष रेकर्ड गरेको यो गीतले पूर्वको प्रसिद्ध धार्मिकस्थल पाथीभराको प्राकृतिक सौन्दर्यको वर्णन गर्छ । भूवनले आफ्नै सङ्गीतमा गाएका हुन् यो गीत ।
यो मात्र होइन, उनले विभिन्न ठाउँहरूको सौन्दर्य र विशेषता वर्णन गर्दै धेरैवटा गीत गाएका र सङ्गीत भरेका छन् । धनकुटाको पर्यटकीस्थल नमस्ते झरनाको विषयमा बनेको गीत ‘क्षितिज चुमेको छ, गुर्धुमको पहरा’ भुवनको सङ्गीत र अञ्जु पन्तको स्वर रहेको छ ।
हाल अमेरिकामा रहेका भूवन उता पनि यस्तै गीतहरू तयार पारिरहेको बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो समय यस्तै विभिन्न ठाउँका पर्यटन गीतहरू गाउन र सङ्गीत भर्न व्यस्त बनेको छु ।’
एकदशकअघि नै भूवनले इलामका रमणीयस्थलको वर्णन गर्दै गाएको गीत चर्चित थियो ।
‘इलाम बजार घुम्ने रहर आज पूरा भो
तिम्रो हात माग्ने मेरो घरमा कुरा भो ।’
इलामको गीत गाएर चर्चा पाएपछि अन्य ठाउँका गीत पनि बनाउन थालेको उनी बताउँछन् । केही वर्षअघि उनले पाँचथर रविको गीत ‘हाम्रो सुन्दर रविकर्ण’ गाएका थिए । त्यस्तै पूर्वकै पर्यटकीय गन्तव्य भेडेटारको विषयमा ‘जता हेर्यो उतै राम्रो मनै तान्यो भेडेटारले’ पनि गाएका थिए ।
भूवनले २०७२ को भूकम्पले ध्वस्त पारेका गाउँ बारपाकका बारेमा पनि गीत गाएका छन् । यस्ता गीतले ओझेलमा परेका ठाउँलाई आम जनमानससम्म पुर्याउने हुनाले पर्यटनका गीत गाउँदा खुशी लाग्ने उनी बताउँछन् ।
उदयपुरको बसाहा–६ सावलीटोलका भूवन नेपाली साङ्गीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । गतवर्ष पाँचौं एल्बम् ‘सम्मान मेरो’ सार्वजनिक गरेका उनले यसअघि चौथो एल्बम् ‘बदनाम’, तेस्रो ‘मायाको फूल’, दोस्रो ‘सजेसन’ र पहिलो ‘तिम्रो माया’ बजारमा ल्याइसकेका छन् । हालसम्म ५ सय हाराहारीमा गीत गाइसकेको बताउने उनी २ सय ५० भन्दा धेरै गीतमा सङ्गीत भरेको बताउँछन् ।
उनको सङ्गीतमा दीप श्रेष्ठ, राजेशपायल राई, अञ्जु पन्त, दीपक लिम्बूदेखि धेरै गायक–गायिकाले स्वर भरेका छन् । भूवनको सङ्गीतमा स्वर्गीय कुमार कान्छाले पनि गीत गाएका थिए । भूवन अन्य किसिमका गीतसँगै पर्यटन गीतलाई अघि बढाउने बताउँछन् । उनी भन्छन्, ‘पर्यटन गीत गाउँदा सङ्गीतको स्वादसँगै ठाउँको प्रचार पनि गरेँ भनेर सन्तुष्टि मिल्छ ।’