धरान/ ‘उडायो सपना सबै हुरीले....’ धेरै नेपालीले सुनेको यो पुरानो गीत सोमबार साँझ धरानमा गुञ्जियो । त्यो पनि यो चर्चित गीतका गायक मुरलीधरकै लाइभ प्रस्तुतिमा ।
धरानमा आयोजित ‘मुरलीधर एकल साँझ’ मा मुरलीधरले आफ्ना चर्चित नेपाली, हिन्दी, भोजपुरी र मैथिली गीत गाउँदा धराने स्रोता/दर्शक मन्त्रमुग्ध बने । मन्नत इन्टरटेन्मेन्टले आयोजना गरेको एकल साँझमा उनका गीत सुन्न गोरखा डिपार्टमेण्ट स्टोरको सभाकक्षमा धरानेहरूको बाक्लै उपस्थिति थियो ।
प्रदेश नं. १ का सभामुख प्रदीप भण्डारीले गायक मुरलीधरलाई सम्मान–पत्र प्रदान गरे । गायक मुरलीधरले इटहरीका मिर्गौला पीडित मित्र गजमेरलाई ५ हजार रुपैयाँ सहयोग प्रदान गरे ।
मुरलीधर मिजारका धेरैवटा परिचय छन् । धेरैले उनलाई गायक र फिल्मका खलनायकका रूपमा चिन्छन् । तर उनी राम्रा सङ्गीतकार, गीतकार, फिल्म लेखक र निर्देशकसमेत हुन् ।
उनले नेपाली फिल्म साइनो, पिरती, सम्झनासहित डेढ दर्जन नेपाली फिल्ममा खलनायक बनेर अभिनय गरेका छन् । ‘मिस्टर इण्डिया’, ‘मै आजाद हुँ’, ‘मासुका’, ‘शक्ति’ लगायतका हिन्दी फिल्ममा भिलेन बनेका उनी नेपाली फिल्म ‘तृष्णा’ का लेखक पनि हुन् । उनले पछिल्लो समय मैथिली र भोजपुरी फिल्महरू निर्देशन पनि गरेका छन् ।
नेपालको सिरहा जिल्लामा जन्मिएर भारतको मुम्बईमा सङ्गीतको औपचारिक अध्ययन गरेका उनी उतैबाट अभिनय र गायनमा सक्रिय भएका थिए । रेडियो नेपालका पुराना गायक मुरलीधरले ‘फूलबारी’ ‘मायाको गाँठो’, ‘तृष्णा’ लगायतका एल्बम् पनि निकालिसकेका छन् । मङ्गलबार धरानमा भेटिएका उनले सुनाए, ‘अब केही समय साङ्गीतिक कार्यक्रममा सक्रिय हुन्छु ।’