पाँचथर/ नेपाली फिल्म ‘घरजम’ को छायाङ्कन अन्तिम चरणमा पुगेको छ ।
मौसम इम्बुङले निर्देशन गरिरहेको फिल्म अहिले पाँचथरको हिलिहाङ र याङ्वरक गाउँपालिकाका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ । उपेन्द्र सुब्बाको कथासङ्ग्रह ‘लाटो पहाड’ भित्रका केही कथाहरूलाई मिश्रण गरी फिल्म निर्माण भइरहेको हो ।
उपेन्द्रकै पटकथा, संवाद रहको फिल्ममा समाजका सकारात्मक र रमाइला पक्षहरूलाई देखाउन खोजिएको निर्देशक इम्बुङले बताए । उनले भने ‘चलचित्रमा एउटी दिदीले आफ्नो भाइको घरजमका लागि गरेको सङ्घर्षको कथा रोचक ढङ्गले देखाउन खोजिएको छ ।’
कुशल इन्टरटेनमेण्टका लागि किशोर पन्धाक, सीताकुमारी तुम्बापो (पन्धाक) र कुशल थलङले करिब एक करोड २५ लाख लगानीमा बनिरहेको घरजमलाई पाँचथरको हिलिहाङ र याङ्वरक गाउँपालिकाका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ । चलचित्रमा रवि शेर्माको मुख्य सह–निर्देशन, युवराज राईको छायाङ्कन, दिनेश माङ्मुको नृत्य, राजनराज शिवाकोटी र ताराप्रकाश लिम्बूको सङ्गीत रहेको छ ।
‘घरजम’मा कुशल थलङ, सिर्जना सुब्बा, बुद्धि तामाङ, यासेली योङहाङ, मिस हङकङ २०१७ सुष्मा लिम्बू, बबिता फोम्बो, प्रेम ओझा, कुमार ढकाललगायतले अभिनय गरेका छन् । फिल्म आगामी दशैंताका रिलिज गर्ने निर्माण पक्षको योजना छ ।