बलिउड अभिनेतृ कङ्गना रनौटले तामिलनाडुकी मुख्यमन्त्री जयललिताको बायोपिक फिल्ममा मुख्य भूमिका निभाउने भएकी छन् ।
कङ्गनालाई यो बायोपिक फिल्मका लागि २४ करोड रुपैयाँ पारिश्रमिक अफर गरिएको छ । यो रकम बलिउड नायिकाको अहिलेसम्मकै सबैभन्दा ठूलो रकम हो । यससँगै कङ्ना बलिउडकी सबैभन्दा महँगी नायिका बनेकी छन् । कङ्गनाभन्दा पहिला दीपिका पादुकोण बलिउडकी सबैभन्दा महँगी नायिका थिइन् । दीपिकाले फिल्म ‘पद्मावत’ का लागि ११ करोड रुपैयाँ लिएकी थिइन् । दीपिकाभन्दा अगाडि प्रियङ्का चोपडा बलिउडमा सबैभन्दा बढी पारिश्रमिक नायिका रहेकी थिइन् ।
जयललिताको बायोपिक फिल्मको निर्देशन एएल विजयले गर्दैछन् । विजय दक्षिण भारतीय फिल्मका सबैभन्दा सफल निर्देशकको रूपमा परिचित छन् । दुई वटा भाषामा बन्दै गरेको यो फिल्म जयललिताको जीवनीमा आधारित छ । जयललिता फिल्म क्षेत्रका साथै भारतीय राजनीतिमा ख्यातिप्राप्त नाम हो । तमिल, तेलुगु र कन्नड फिल्ममा अभिनय गर्नुका साथै उनी १९९१ देखि २०१६ सम्म तमिलनाडुकी मुख्यमन्त्री बनेकी थिइन् ।