आउन ठूले फर्की आऊ
जोवन त्यसै ढल्नै लाग्यो नि
तिमी बिना मारुनीमा
मादलै रोइसक्यो नि ।
अहिलेका फिल्म अभिनेता दयाहाङ राईले डेढ दशकअघि ‘दया हारा’ नाममा यो गीत लेखेका थिए । गीतलाई गायिका बेनुका राईले आफ्नो एकल एल्बम ‘पर्खाई’मा समेटिन् । त्यही गीतले बेनुकालाई साङ्गीतिक क्षेत्रमा परिचय दियो । पछि दयाहाङ र बेनुका जीवनसाथी बने ।
मोरङको रमाईलोबाट एसएलसी सकेपछि २०५५ मा पढ्नका लागि काठमाडौं पुगेकी उनको मनमा सङ्गीत पढ्ने रहर जाग्यो । उनले ललितकला क्याम्पसमा सङ्गीत अध्ययन गरिन् । डोरेमी सङ्गीत प्रशिक्षण केन्द्रमा पनि सिकिन् । २०५९ मा रेडियो नेपालमा आधुनिक गीत प्रतियोगीतामा तेस्रो बनेपछि अझै सक्रियता बढ्यो ।
२०६१ सालमा पहिलो एकल एल्बम ‘पखाई’ सार्वजनिक गरेकी बेनुकाले २०६३ मा गुरुकुलमा एकल साङ्गीतिक प्रस्तुति दिइन् । एल्बमदेखि एकल कार्यक्रमसम्म दयाहाङले आँट दिए, सहयोग गरे । त्यो बेला दयाहाङ भर्खर अभिनय गर्न थालेका थिए । २०६५ मा उनीहरूको विवाह भयो । ‘दया त्यो बेला मेरो फ्यान थियो ।’ उनी सुनाउँछिन् ‘साङ्गीतिक कार्यक्रमकै बेला चिनजान भयो र हाम्रो मागी विवाह भयो ।’
२०६८ सालमा राजु तामाङसँग मिलेर उनले ‘साः द फस्ट नोट’ एल्बम निकालिन् । त्यसपछि बेनुकाले आफ्नो सङ्गीतको अध्ययनलाई निरन्तरता दिइन् । अहिले उनले सङ्गीतमै स्नातकोत्तर गरिसकेकी छिन् । शुरुका दिनमा उनलाई जसरी पर्दा पछाडिबाट दयाहाङले साथ दिए बेनुकाले पछिल्लो समय घरव्यवहार सम्हालेर उसैगरी साथ दिइरहेकी छन् ।

लामो समय सङ्गीत क्षेत्रबाट ओझेल परेकी बेनुकाले पहिल्यै गाएको गीत ‘जोगियाको फेरिले’ दयाहाङले निर्देशन गरेको नाटक ‘झ्यालिञ्चा’ को प्रवद्र्धनका लागि प्रयोग गरियो । त्यसको भिडियो सार्वजनिक भएपछि उनी फेरि चर्चामा आइन् । देश र विदेशमा साङ्गीतिक कार्यक्रममा गाउन पुगिन् ।
कतिले उनलाई पुरानै बेनुका भनेर चिने कतिले दयाहाङ कि श्रीमती भनेर । त्यसमा उनलाई खुसी नै लाग्छ । ‘आधाले मलाई बेनुका भनेर चिन्छन्, आधाले दयाहाङकी श्रीमती भनेर’ उनी सुनाउँछिन् ‘दयाको नामले चिनिए पनि मेरै नाम फैलिएको छ । यसैमा खुसी लाग्छ ।’