धरान/ चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराईले निर्माण गरेको फिल्म ‘यात्रा’को ट्रेलरमा द्विअर्थी संवाद रहेको भन्दै विवाद उत्पन्न भएको छ ।

ट्रेलरमा कलाकार राजाराम पौडेलले बोल्ने संवाद प्रायः दोहोरो अर्थ लाग्ने किसिमका छन् । निर्माता भट्टराईले आलोचना गर्नुपर्ने संवाद नलागेपछि समावेश गरिएको बताए ।

भट्टराईले बोर्ड अध्यक्षको रूपमा पदभार ग्रहण गर्नुभन्दा केही घण्टा अगाडि फिल्मको ट्रेलर रिलिज भएको थियो । उनलाई कार्यक्रममा पत्रकारको अध्यक्षकै फिल्ममा दोहोरो अर्थ लाग्ने शब्द भएको भन्दै प्रश्न सोधेका थिए । त्यसको जवाफमा उनले फिल्म भित्रको एउटा होमस्टे सञ्चालन गरेर बसेको पात्रले बोलेको संवाद भएकाले त्यस्तो शब्द सार्वजनिक गरिएको बताए ।

सेन्सर बोर्डको कार्यविधिमा फिल्मको ट्रेलर समेत सेन्सर गर्नुपर्ने व्यवस्था छ तर अध्यक्षकै फिल्मको ट्रेलर सेन्सर गरिएको छैन । सेन्सर बोर्डको कार्यविधि २०७४ को बुँदा नम्बर ७ मा फिल्मको प्रोमो अनिवार्य जाँच गर्नुपर्ने उल्लेख छ । बोर्ड अध्यक्ष भट्टराईले आजसम्म कुनै फिल्मको ट्रेलर जाँच नभएकाले आफ्नो फिल्मको ट्रेलर पनि जाँच नभएको बताए ।