धरान/ पटक–पटक विवादमा पर्दै आएका गायक तथा सङ्गीतकार टङ्क बुढाथोकी पुनः विवादमा तानिएका छन् ।
पहिला अरुको सङ्गीत चोरेको भनी विवादमा पर्ने गरेका बुढाथोकी केहीअघि अशोक दर्जीमाथि एकाधिकार जमाएको, सहयोगको लागि उठेको रकम पारदर्शी नगरेकोलगायतको विवादमा फसेका थिए । अहिले बाल गायिका समीक्षा अधिकारीमाथि एकाधिकार जमाएको भन्ने विवादमा तानिएका छन् ।
सङ्गीतकार बसन्त सापकोटाले समीक्षालाई ‘नाइँ नभन्नु ल ५’ मा गाउन लगाएपछि उनी चर्चामा आएकी थिइन् । तर बुढाथोकीले फेसबुकमा समीक्षालाई आफूले पहिलो पटक काम गराएको भनेर लेखेपछि उनी विवादमा तानिएका हुन् । बुढाथोकीले त्यस्तो स्टाटस लेखेपछि सङ्गीतकार सापकोटाले ‘टङ्क भाइ अग्रजहरूको सम्मान गर्न सिकौं ल ।’ भन्दै अर्को स्टासट लेखे ।
उनले लेखेका छन्, ‘समीक्षाको पहिलो गीत चलचित्र ‘ नाई नभन्नु ल ५’ को गीत ‘बालपनको उमेर’ सबैतिर चर्चित भइसकेको र सबैको प्रेरणाले नानी अगाडि बढिरहेको अवस्थामा यो काम त सूर्यलाई हत्केलाले छोप्न खोजे जस्तो भएन र ! कि भाइ अर्कै दुनियाबाट आउनु भएको हो ?’ सापकोटाको प्रतिक्रियापछि बुढाथोकीले आफ्नो पोष्ट परिवर्तन गर्दै ‘समीक्षा अधिकारीसँगको मेरो पहिलो काम’ बनाएका छन् ।