इटहरी/ कलाकार तथा निमात्री प्रज्ञा जोशी इटहरीमा बाउन्स चेक ठगी अरोपमा पक्राउ परेकी छन् ।
आइतबार इलाका प्रहरी कार्यालय इटहरीले जोशीलाई पक्राउ गरेको हो । मोरङमा जग्गा दिने भन्दै ५० लाख ठगी गरेको आरोपमा जोशीलाई इटहरी प्रहरीले पक्राउ गरेको हो । लामो समयदेखि इटहरीमा लुकिछिपी बस्दै आएकी जोशीलाई इटहरी प्रहरीले पक्राउ गरेको हो ।
सुवर्णकुमारी श्रेष्ठले आफूलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा दिएको उजुरीको आधारमा कलाकार जोशीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईले बताए । इटहरीबाट पक्राउ परेकी उनलाई काठमाडौं पठाइनेछ । उनीमाथि ५० लाखभन्दा बढी बाउन्स चेक दिएर ठगी गरेको आरोप छ । महानगरीय अपराध अनुसन्धान महाशाखामा ठगीविरुद्ध उजुरी परेको थियो । कलाकार जोशी यसअघि पनि बारम्बार आर्थिक विवादमा पर्दै आएकी थिइन् ।
केही वर्षअघि पनि फिल्म निर्माता तथा वितरक सुनिल मानन्धरले प्रज्ञाबाट ठगिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । डेढ करोड बाउन्स चेक दिएर ठगी गरेको उजुरी महानगरीय अपराध अनुसन्धान महाशाखामा परको थियो । जोशी मिटर ब्याजमा पैसा खेलाउने कलाकारका रूपमा पनि परिचित थिइन् । मिटर ब्याजबाट धेरै गुमाएकी थिइन् । मिटर ब्याजबाट डुबेपछि उनी विभिन्न व्यक्तिसँग पैसा लिएर पूर्व आएकी थिइन् । उनले ‘सपुत’, ‘सम्झाना’, ‘न बिर्से तिमीलाई न पाएँ तिमीलाई’, ‘नोटबुक’ लगायतका फिल्म निर्माण गरेकी थिइन् भने केही फिल्ममा अभिनय पनि गरेकी थिइन् ।