धरान/ नेपाली साङ्गीतिक क्षेत्रमा नयाँ भए पनि रेश्मा पुन अहिले साङ्गीतिक रेसमा छिन् ।

सङ्गीत क्षेत्रमै भविष्य बनाउने सोचले सङ्घर्षरत रेश्मा यतिबेला नेपाली फिल्मका गीत रेकर्डिङ र साङ्गीतिक कार्यक्रममा गाउन व्यस्त बनिरहेकी छन् । २०६७ सालमा नेपालगञ्जको कृष्णसार एफएमले आयोजना गरेको गायन प्रतियोगितामा विजेता बनेपछि रेश्मालाई सङ्गीतको नशा लाग्यो ।

चार वर्षअघि गायनमै स्थापित हुने उद्देश्य बोकेर काठमाडौं आएकी रेश्मालाई आफ्नो फरक स्वरले व्यस्त बनाएको छ । उनले गाएको फिल्म ‘डायरी’ को गीत ‘पैसा न कौडी’ ले पनि उनलाई अझ चिनायो । उनले रेखा थापाको फिल्म रुद्रप्रियामा पनि गाएकी छन् ।

‘उफ् यो मन’ , ‘लिलिबिली’ लगायतका गीतमा स्वर भरेकी उनी भन्छिन्, ‘फिल्मको गीतबाट राम्रै रेस्पोन्स पाइरहेकी छु ।’ हङ्कङमा पुगेर आफ्नो एकल एल्बम् ‘रेश्मा’ सार्वजनिक गरेकी उनी भन्छिन्, ‘अहिले म्युजिकल रेस बढिरहेको छ । यसलाई अझै बढाएर लैजाने चाहना छ ।’