एजेन्सी/ अभिनेतृ प्रियङ्का चोपडा र निक जोनसको विवाह भएको चार महिना मात्र हुँदैछ तर अहिले प्रियङ्का र निकको जोडी छुट्न लागेको हल्लाले बजार तताएको छ ।

अमेरिकाको ओके म्यागजिनले प्रियङ्का र निक सम्बन्धविच्छेद गर्ने अवस्थामा पुगेको समाचार प्रकाशन गरेपछि फिल्मी क्षेत्रमा यसले तरङ्ग ल्याएको हो । म्यागजिनले उनीहरूबीच सान–साना कुरामा झगडा भइरहने र उनीहरू छुट्ने अवस्थामा पुगिसकेको दाबी गरेको छ ।

म्यागजिनले लेखेअनुसार निक प्रियङ्कालाई समझदार श्रीमती भएको सोच्थे तर विवाहपछि प्रियङ्काले उनलाई नै कन्ट्रोल गर्न खोजेपछि सम्बन्ध धरापमा परेको हो । ओके लेख्छ, ‘निकको परिवारले प्रियङ्का परिपक्व महिला भएकाले सेटल भएर आफ्नो बच्चाको बारेमा योजना बनाउलिन् भन्ने सोचेको थियो तर उनको व्यवहार अझै पनि २१ वर्षीया युवतीको जस्तो हुँदा परिवार प्रियङ्काप्रति खुशी छैन ।’

तर प्रियङ्काका नजिकका आफन्तहरू यस कुरालाई अस्वीकार गर्दै आइरहेका छन् । यो समाचार झुट भएको भन्दै अहिले प्रियङ्काले अदालतमा मुद्दा दायर गर्ने अवस्थामा पुगेको उनकी काकीकी छोरी बलिउड नायिका परिणती चोपडाले जनाएकी छन् । उनले यस्ता वाहियात कुराका पछि नलाग्नसमेत आग्रह गरेकी छन् । दुवै एकअर्कासँग खुशी रहेको र सम्बन्धविच्छेद हुने हल्ला गलत भएको उनको दाबी छ । यस विषयमा प्रियङ्का आफैंले भने बोलेकी छैनन् ।