इलाका प्रहरी कार्यालय धरानमा नयाँ ‘ठानेदार’ (चलनचल्तीको भाषामा, कार्यालयीय भाषामा ‘प्रहरी प्रमुख’) आएसँगै पत्रकारहरूको समाचार स्रोत सन्दर्भ सकारात्मक कोणमा अगाडि बढेको छ । इलाका प्रहरी कार्यालय धरानमा काजमा आएका नयाँ ठानेदारसँगै नयाँ चरित्र वा प्रवृत्ति पनि सँगै आउने गरेको छ । यो चरित्र वा प्रवृत्तिले ठानेदारहरूको आर्थिक पृष्ठभूमि, समाजिक भूगोल, सांस्कृतिक चेतना र वैचारिक स्तरको पृष्ठभूमिलाई कुनै न कुनै कोणबाट सम्बोधन गरेको पाइन्छ ।

त्यसैले धरानमा नयाँ आएका ठानेदारहरूले आफ्नो उपस्थिति जनाउन केही नयाँ प्रयोग गरिरहेका हुन्छन्, जसको माध्यमबाट धरानबासीले नयाँ ठानेदार आएको कुरा बुझ्न सक्छन् । औसत धरानवासीले नयाँ ठानेदार आएको थाहा पाउने सूत्र भनेको होटलमा प्रहरीले धेरै छापा मार्न थाल्नु नै हो । अचम्म त यो छ कि, प्रहरीको छापा मार्ने क्रम नयाँ ठानेदार आएको करिब महिना दिनपछि आफै सेलाएर जान्छ । अहिले धरानमा नयाँ ठानेदार प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेको उपस्थिति भने पत्रकार–मैत्री भएर देखा परेको छ । पत्रकारिताको कोणबाट यो ज्यादै सकारात्मक पाटो हो ।

व्यक्तिसँग अन्तरनिहित चरित्र वा प्रवृत्तिको सत्व (वस्तु तत्व) हुन्छ । त्यही चरित्र वा प्रवृत्ति नै कार्यक्षेत्र वा कार्य सम्पादनमा देखिने विषय हो । धरानमा धेरै ठानेदारहरू आए, उहाँहरूसँगै आएका सत्वका कारण कार्य क्षेत्र वा कार्य सम्पादन शैली चर्चामा रहे । अहिलेका नयाँ ठानेदार र प्रहरी नायब उपरिक्षक ढुण्डिराज न्यौपाने पत्रकारहरुमाझ समाचार स्रोतकारूपमा परिचित छन् । ढुण्डिराज न्यौपानेको उपस्थितिसँगै धरान उपमहानगरपालिका क्षेत्रभित्र भएका गैरकानुनी तथा आपराधिक क्रियाकलापको बारेमा समाचार स्रोतको रूपमा इलाका प्रहरी कार्यालय देखिएको छ ।

समय-समयमा घटना विशेषका बारेमा पत्रकार भेटघाट, घटनामा संलग्न आरोपीहरूको सार्वजनिकीकरण वा सञ्चार गृहमा प्रहरीको गतिविधि पठाइरहनुले नयाँ ठानेदार सञ्चारकर्मीहरूका लागि समाचार स्रोत नै बनेको छ । सञ्चारकर्मीहरूलाई सूचनामा सहजीकरण गर्न उत्सुक ठानेदारको सकारात्मक सहयोगले नै सूचनामा सञ्चारकर्मीहरूको पकडलाई सहज र विश्वासनीय बनाइदिएको छ । सूचनामा सहज पकडका कारण धरानवासीले पनि विश्वस्त सूचनाका कारण आपूmलाई विषयसँग जानकार वा सचेत बनाउन सकेका छन् ।

पत्रकारितामा स्रोतको ठूलो महत्व रहन्छ । पत्रकार आफै सम्बन्धित घटना वा सन्दर्भ विशेषको जानकार हुँदैन । त्यस्तो अवस्थामा समाचारको लागि पत्रकारले स्रोतमा भर पर्नुपर्ने हुन्छ । तर, उक्त स्रोत विश्वासनीय र तथ्यसङ्गत हुनु आवश्यक छ । त्यसैले पत्रकारिताको आदर्श सिद्धान्तमा स्रोतको बारेमा भन्ने गरिन्छ–‘तिमी मरेर भए पनि स्रोत जोगाऊ ।’ यस भनाइले पनि समाचारमा स्रोतको महत्वलाई स्थापित गर्छ ।

तसर्थ, सञ्चारकर्ममा लागेकाहरूको लागि स्रोत आवश्यक भएको अवस्थामा इलाका प्रहरी कार्यालय धरान आफै स्रोतमात्र होइन सहजीकरणको भूमिकामा पनि देखा परेको छ । इलाका प्रहरी कार्यालय धरानले घटना विशेषकोबारेमा जानकारीमात्र दिने होइन कि सञ्चारकर्मसँग जोडिएका सञ्चारकर्मीहरूलाई एकसाथ बोलाएर घटनाको वास्तविकता र पक्राउ गरिएका आरोपीसँग साक्षात्कार गराउँदै आएको छ । जुन कार्यले समाचारमा एकरूपता र विश्वासनीयता बढाउँदै लगेको छ ।

सञ्चारकर्मीको आँखामा इलाका प्रहरी कार्यालय धरान ‘सञ्चारमैत्री स्रोत’ देखिएकै छ । यद्यपि, अझै समाचारलाई विश्वासनीय बनाउन आरोपीहरूका भनाइहरू पनि सार्वजनिक गर्न सहयोगीको भूमिका खेल्न आवश्यक छ । अपराध प्रमाणित नभएसम्म कोही पनि व्यक्ति आरोपीमात्र भएकाले सो व्यक्तिसँग आफ्नो राय राख्ने अधिकार रहन्छ । जुन कुरालाई नेपालको कानूनी व्यवस्थाले समेत सम्मान गरेको छ । मुख्य कुरा त नागरिकहरूमाझ अझै पनि प्रहरीको छवि ‘जबरजस्ती पक्राउ गर्ने तथा फसाउने नियत राख्ने’ को रूपमा चित्रित छ ।

आम नागरिकमा भएको यस्तो धारणा हटाउन र समाचारमा अझ विश्वासनीयता कायम राख्न पनि आरोपीहरूसँग पनि पत्रकारहरूको अन्तरक्रिया गराउने गरे इलाका प्रहरी कार्यालय धरानका ठानेदारको साख अझै उँचो बनाउने देखिन्छ । अदालतले पनि आरोपीहरूलाई आफ्नो बचाउको लागि बयान दिने समय दिएका हुन्छन् भने सञ्चारकर्मीमाझ आरोपी (यदि आरोपीले आप्mनो धारणा राख्न चाहन्छन् भने) को धारणा राख्न दिए सुनमा सुगन्ध हुन्छ । सञ्चारकर्मीमाझ आरोपीहरूको भनाइ राख्न सके प्रहरी स्वयम्लाई लाग्न सक्ने ‘प्रायोजित समाचार’ को आरोपबाट मुक्त हुने देखिन्छ ।

समाचार स्रोतमा प्रहरीको मात्र एकतर्फी भनाइले समाचार विश्वासनीय बनाए पनि पाठकका लागि रुचिकर वा पठनीय बन्न सक्दैन । पाठकको लागि समाचार पठनीय बनाउन र प्रहरी स्वयम् ‘प्रायोजित समाचार’ को आरोपबाट मुक्त हुन आरोपीको विचार आउन जरुरी छ । आरोपीको धारणा वा विचारले समाचार पठनीय त बनाउँछ नै विचारको स्वतन्त्रतालाई सम्मान गरिदिएकोमा आम नागरिकबीच प्रहरीप्रतिको सम्मान पनि बढेर जानसक्ने देखिन्छ । त्यसो त पत्रकारितामा एउटा भनाइ छ–‘स्रोतहरू कहिले काहीँ बेइमान भइदिन्छ र समाचार अविश्वासनीय बन्न जान्छ ।’ प्रहरीको गतिविधि सञ्चारमैत्री हुँदाहुँदै पनि प्रायोजित समाचार त भइरहेको छैन भन्ने पत्रकारहरूको शङ्का त यथावत् छँदैछ ।
[email protected]