बिर्तामोड । बिर्तामोड नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को कार्यालयमा भएको प्रेसर कुकर बम बिस्फोटको नेत्र बिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपाले जिम्मा लिएको छ ।
बिप्लपका झापा सेक्रेटरी मनिषले ब्लाष्टसँग फोन गर्दै बिस्फोटको जिम्मा लिएका हुन् । बिर्तामोड नगरपालिकाको ८ नम्बर वडाबाट सिफारिस लिएर विदेशीलाई नेपाली नागरिकता वितरण गरिएको भन्दै कारवाहीस्वरुप बिस्फोट गरिएको उनले बताए ।
भारतीय, तिब्बती र भुटानी नागरिकसँग मोटो रकम लिएर नेपाली नागारिकता बनाएर राष्ट्रदोह गरेको आरोप उनले लगाए । गत असार यता बिर्तामोड नगरपालिकाले १८ जना विदेशीलाई नागरिकता बाँडिसकेको उनले बताए । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गौरव ढुङ्गेल, नायब सुब्बा मेघराज निरौला, खरदार तेजेन्द्र न्यौपाने, भद्रपुर नगरपालिका ९ का अध्यक्ष सनीलाल राजवंशी, बिर्तामोड ८ का वडा अध्यक्ष अजय कार्कीलगायतको मिलोमतोमा विदेशीलाई नागरिकता बाँडेको आरोप नेकपाले लगाएको छ ।
प्रहरीले बिभिन्न समयमा सो पार्टीका १७ जना कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सो समूहले भद्रपुर, बिर्तामोड, अर्जुनधारा, दमकलगायत विभिन्न स्थानमा रहेका एनसेलको टावरमा आगजनी तथा विष्फोट गराएको भन्दै तिनका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।
झापाका प्रहरी प्रमुख दिनेशराज मैनालीका अनुसार वडा कार्यालयमा बम विष्फोट गराउने समूहको खोजी भइरहेको छ । प्रेसर कुकर बम विष्फोटका कारण वडाको सम्पूर्ण काम पूर्णरूपमा प्रभावित भएको छ । विष्फोट भएको वडा कार्यालयको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबाट अनुसन्धान भइरहेको र उक्त स्थानमा प्रदेशसभा सांसद एकराज कार्की, उपमेयर पवित्रा महतारा प्रसाईं लगायतले अनुगमन गरेका थिए ।
सोमबार बिहान साढे ४ बजे विस्फोट भएको थियो । भवन आसपासमा विस्फोट भए जस्तै आवाज आएपछि अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरीको टोली खटिएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विस्फोटबाट कार्यालय भवनको ६ वटा झ्याल, कोठाभित्र रहेका फर्निचरका सामान र कार्यालयको भित्तामा क्षति पुगेको छ । घटनास्थलमा विस्फोटक पदार्थका कुनै पनि अवषेशहरु फेला नपरेको प्रहरीले जनाएको छ । बम विस्फोट भएको वडा कार्यालयको भवन अस्थायी प्रहरी चौकी गरामनीबाट ५ सय मिटर उत्तरमा पर्छ ।