भद्रपुर/ भद्रपुर गौशाला पूर्वको पूरानो गौशालाको रूपमा स्थापना भएको पाइन्छ । वि.सं. २००९ सालमा गौशालाको अवधारणा राखेर भद्रपुरका स्वर्गीय भवानी शङ्कर मित्रुका , मुक्तिध्वज जोशी र जनार्दन शर्माले गौशालाको परिकल्पना गरेको इतिहास सुरक्षित छ । स्वर्गीय मित्रुकाले २५ बिघा , जोशीले ३ बिघा र शर्माले साढे तीन कठ्ठा दान र ८ कठ्ठा मूल्य लिएर जमिन प्रदान गरेपछि गौशालाले औपचारिकता पाएको थियो ।

हाल साढे ११ कठ्ठामा गौशाला सञ्चालनमा आएको छ । अन्य बाँकी जग्गा ठेक्कामा लगाइएको छ । तर, विडम्बना यति धेरै जग्गा स्वामित्वमा रहे पनि सञ्चालन समितिले वार्षिक करिब १४ लाख रुपैयाँ दान मागेर गौशालालाई थामिरहेका छन् । वार्र्षिक करिब ३३ लाख रुपैयाँ गौशाला सञ्चालनमा खर्च हुँदै आएको समितिको तथ्याङ्कमा उल्लेख छ ।

गौशालाबाट उत्सर्ग हुने गौमुत्र,गोबर, दुध र जग्गाबाट वार्र्षिक करिब १८ लाख रुपैयाँ आम्दानी हुने गरेको समितिका कोषाध्यक्ष दिलीप वंशलले बताए । चालू आर्थिक वर्षका लागि ३३ लाख ३० हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको उनले बताए । दिल्ली र वृन्दावनबाट १२ थान गाई निःशुल्क ल्याएर उन्नत जातका गाई राखिएको समितिका अध्यक्ष राजेन्द्र चापागाइँले बताए । दुई नन्दी र बाछाबाछी तथा यहाँका रैथाने गाई गरी ७१ थान गाइवस्तु गौशालामा रहेको उनले बताए ।

पशु तस्करले भारत लैँजादै गरेका गाईहरू प्रहरीले समाएर गौशालालाई बुझाउने गरेको उनले बताए । स्थान अभावका कारण झापाकै शिवसताक्षी गौधाममा समिति कै खर्चबाट पठाइने गरेको उनले बताए । गौशालाबाट उत्सर्ग भएको सामान र दूध भद्रपुर क्षेत्रमा नै खपत हुँदै आएको उनको भनाइ छ । हाल ४२ लिटर दूध सङ्कलन हुँदै आएकोमा अबको केही महिनापछि ७५ लिटर दूध गौशालामा जम्मा हुने उनले बताए । होलस्टेन र जर्सी गाई घटाउँदै उन्नत जातका गाई राख्दै जाने उनले बताए ।

गौशालालाई निरन्तरता दिन नेपालबाट मात्र नभई भद्रपुर छाडेर गएका दाताहरूको समेत वार्षिक रूपमा सहयोग आउने गरेको समितिका सदस्य सुवोध कोठारीले बताए । आन्तरिक स्रोतले थाम्न नसक्ने भएकोले दाताहरूसँग पहल चै जारी राख्नुपर्ने उनले जनाए ।

गौशालालाई नगद सहयोग
गौशालालाई थप व्यवस्थित गर्न २ लाख १ हजार रुपैयाँ नगद सहयोग प्राप्त भएको छ । भद्रपुर ७ का स्थायी बासिन्दा तथा उद्योगी विदुर ढुङ्गनाको पहलमा पश्चिामाञ्चल सिमेन्ट उत्पादक सङ्घ भैरहवा र गौप्रेमी मनिष रुङ्गटाले नगद सहयोग गरेका हुन् ।

गौशालाले शनिबार विहान आयोजना गरेको पत्रकार सम्मेलनमार्फत् सङ्घले १ लाख ५० हजार र रुङ्गटाले ५१ हजार गरी एकमुष्ट नगद ढुङ्गनाले गौशाला सञ्चालक समितिलाई हतान्तरण गरेका थिए । प्राप्त नगदबाट दिउँसो चरनको लागि नालीमाथि फलामको पुल तथा गाइगोठमा रहेका समयमा झिँगा तथा कागबाट सुरक्षित रहन तारजाली लगाइने समितिका अध्यक्ष राजेन्द्र चापागाइँले बताए ।

दाता ढुङ्गनाले भद्रपुर भन्दा स्वर्गीय आनन्द अन्य जिल्लामा नभएकोले जीवनभर गौशालाप्रति सहयोग जारी राख्ने वचन दिएका थिए । गौशालामा दिव्य श्री गणेश (कृष्ण भगवान) को मूर्ति ,छात्रावास,अध्ययन कक्षलगायत निर्माण भएका छन् । भद्रपुर ५ स्थित नेपाल–भारतको समिा क्षेत्र मेची नदीको किनारमा रहेको गौशालाले पर्यटनको सम्भावना बोकेको पाइन्छ ।

cow