काठमाडाैं / जबरजस्ती करणी उद्योग आरोपमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई आज अदालत पु¥याइएको छ । नर्भिक अस्पतालमा उपचार गराइरहेका महरालाई आज म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको महानगरि प्रहरीले जनाएको छ ।
यता हत्या आरोप लागेका कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई अनुसन्धानका लागि ७ दिनको म्याद थप भएको छ । आजै जिल्ला अदालत रौतहटमा उपस्थित गराइएकोमा उनलाई न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले ७ दिनको म्याद थप गरेको थियो ।

सभामुख महरालाई संसद् सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणीको आरोप लागी गत असोज १९ गते पक्राउ गरिएको थियो । आरोपित महरालाई प्रहरीले महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतमा राखेको थियो। पछि उनको स्वासथ्यमा समस्या आएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो। अस्पतालबाटै उनलाई अदालततर्फ लगिएको छ ।

हत्या आरोप लागेका कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई विसं २०६४ सालमा बम बनाउने क्रममा पड्केर घाइते भएका केही व्यक्तिलाई इँटा भट्टामा पोलेर मारेको अभियोग लागेको छ। उनलाई गत आइतबार प्रहरीले रौतहटबाट पक्राउ गरेको थियो। सर्वोच्च अदालतले २०६९ मा उनलाई पक्राउ गरेर अनुसन्धान गर्न आदेश दिएको थियो । त्यसको ७ वर्षपछि मन्त्री आलम पक्राउ परेका हुन्।