दमक/ पाँचथरबाट करिब ९–१० वर्षअघि झापा झरेकी हुन् सञ्चमाया जवेगु । उनी आफन्तमार्फत् परिवारसहित कमल गाउँपालिका–५ मा रहेको खाली जग्गामा बस्न आइपुगेको बताउँछिन् । त्यसबेला उनले ३५ हजार रुपैयाँमा १० कठ्ठा जग्गा ओगटेर बसेकी हुन् । उनले ओगटेको जग्गा सशस्त्र प्रहरी बल पाथीभरा गणको हो ।

इलामको चुलाचुलीस्थित पेल्टिमारीबाट कमलप्रसाद चापागाईं पनि यही ठाउँमा विगत १० वर्षदेखि बस्दै आएका छन् । पेल्टिमारीमा राम्रो उब्जनी नभएपछि उनी राम्रो उब्जाउ हुने जमिनको खोजी गर्दै यहाँ आइपुगेका हुन् । आफन्तमार्फत् नै उनी पनि यस ठाउँमा निश्चित शुल्क तिरेर बसेको बताउँछन् । उनीसँग १ बिगाहा जमिन छ । त्यो जमिन पनि उनले आफ्ना छोराहरूलाई भागबण्डा गरिदिइसके । तर उनका छोराहरूलाई भागबण्डा गरेको जग्गा पनि सशस्त्रकै हो ।

भोजपुरबाट आएका मदनबहादुर राईले ५५ हजार रुपैयाँ तिरेर सशस्त्रको १० कठ्ठा जमिन खरिद गरे । उनी काम गर्दै विभिन्न ठाउँ हिँड्ने गरेको र आफ्नो नेपालभरि कहीँ पनि जग्गा नभएको दाबी गर्छन् ।

यी त प्रतिनिधिपात्र मात्र हुन् । उनीहरू जस्तै यहाँका १ सय ५० घरले सशस्त्र प्रहरी बल पाथीभरा गणको जग्गा हडपेर बसेका छन् । वर्षौंदेखि जग्गा हडपेर बसेका उनीहरूलाई गत पुस २८ गते एउटा पत्र आयो । १५ दिनभित्र ठाउँ खाली गराउनू भनेर । गाउँमा त्यो पत्रले निकै तरङ्ग ल्यायो । पाँचथरकी जवेगु भन्छिन्, ‘हामीले माघेसङ्क्रान्ति पनि मनाउन पाएनौं, त्यसयता रातभर निन्द्रा परेको छैन ।’ वर्षौंदेखि बसेका हामीलाई अहिले नै छोड, भरे नै छोड भन्दै सशस्त्र प्रहरीले उठाउन लागेको उनीहरूले बताए । त्यहाँ बसेकाहरूले आफूहरू त्यो ठाउँबाट हट्न राजी भएको तर कुनै न कुनै ठाउँमा आफूहरूको व्यवस्थापन गरिनु पर्ने भन्दै वडाकार्यालयमा समेत घेराउ गरिसकेको बताएका छन् ।

सशस्त्रको यहाँ १ सय हेक्टर अर्थात् १ सय ५० बिगाहा जमिन छ । यही जमिनभित्र सशस्त्रले आफूलाई चाहिने विभिन्न संरचना बनाएको छ । त्यसबेला खाली रहेको जमिनमा सशस्त्रले आफै तरकारी खेती गरेको र पछि त्यहाँ त्यहीँका स्थानीयलाई जोतभोग गर्नू भनेर सहमतिसहित दिएको बताइएको छ ।

पछि आफूहरूलाई जग्गा आवश्यक पर्दा सहजै फिर्ता गर्ने सहमतिमा जग्गा जोतभोग गर्न दिइएको सशस्त्र प्रहरीले जनाएको छ । २ वर्षअघि त्यहाँ रहेको सशस्त्र प्रहरी बल पाथीभरा गणलाई तालिम केन्द्र बनाउने भनेर सरकारले निर्णय गरेको थियो । सोही घोषणाअनुरूप त्यहाँ विभिन्न संरचना बनाउन आवश्यक परेपछि आफूहरूले जोतभोग गर्नका लागि दिएको जग्गा फिर्ता माग्न खोजेको तर स्थानीयले सहजै फिर्ता नगरेको सशस्त्र प्रहरीले जनाएको छ ।

कमल–५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाका अनुसार अघिल्लो वर्ष जेठमा सशस्त्रले घर छोड्न निर्देशन दिएको थियो । त्यसबेला आफ्नै आग्रहमा रोकिएको उनले बताए । वर्षाको समयमा घर छोडेर जान असहज हुने भएपछि आफूले प्रमुख जिल्ला अधिकारीलाई समेत अनुरोध गरेर थमाएको उनले बताए ।

वडाध्यक्ष निरौलाले भने, ‘त्यसबेला वर्षाको कारण घर छोड्न अप्ठ्यारो परेको थियो र हिउँदको समयमा घर छोड्ने भनेर सर्वपक्षीय निर्णय भएको छ ।’ उनले त्यसबेलाको सम्झौताको पालना गर्न आग्रह गरेका छन् । सशस्त्रले त्यो ठाउँ खाली गराउन वडालाई समेत आग्रह गरेपछि वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र घर तथा टहरा भत्काउन पत्राचार गरिसकेको वडाध्यक्ष निरौलाको भनाइ छ । पुस २८ गते नै पत्राचार गरिसकिएकोले माघ १३ गतेसम्ममा ती घरटहरा हटाइसक्नु पर्ने वडा कार्यालयले जनाएको छ ।