धरान / धरान–९ मा खानेपानीको चरम अभाव भई आन्दोलन नै भए पनि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा बैठकको कार्यसुची मै परेन । हिजो र आज कार्यपालिका बैठक भएको थियो ।  बैठकले पूर्व मेयर ध्यानबहादुर राईको सालिक निर्माण तथा शोक सभा गर्ने र घर नक्शा तथा बाटो मापदण्ड सम्बन्धमा कार्यदल गठनको निर्णय तथा कर समायोजन गर्ने निर्णय ग¥यो तर खानेपानी समस्याको विषयमा कुनै छलफल नभएको धरान–१८ का वडा अध्यक्ष नरेन्द्र राईले जानकारी दिए ।

‘वडा नं. ९ मा मात्र खानेपानीको समस्या हैन, धरानको सबै वडामा खानेपानीको समस्या भएकाले खानेपानीको विषयमा खानेपानी स‌स्थान र  एडिवीसँग समन्वय गरी २० वटै वडामा खानेपानी समायोजन गर्ने मौखिक  छलफल भएको उनले बताए ।
९ नं. वडा अध्यक्ष रत्न कटवालको संयोजकत्वमा खानेपानी संस्थानमा उपभोक्ताहरुले धर्ना दिइरहेका थिए । मेयर तिलक राईको आश्वासन पछि धर्ना स्थगित गरिएको थियो ।

बैठकले वडा नं. १७ स्थीत रहेको सप्तरङ्गी पार्कमा स्वर्गिय पूर्वमेयर ध्यान बहादुर राईको शालिक निर्माण गर्ने कार्यपालिका बैठकले घोषना गरेको छ । साथै धरान ८ मा रहेको सभागृह हलमा शोकसभा समेत गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ । यसैगरी कार्यपालिका बैठकले घर नक्शा तथा बाटो मापदण्डको सम्बन्धमा ९ सदस्यीय समिति गठन गरेको छ । घर नक्शा तथा बाटो मापदण्डको सम्बन्धमा संयोजक वडा नं. १४ का अध्यक्ष कृष्ण प्रसाद भट्टराई छन् भने सहसंयोजकमा वडा नं. १२ का टंक बहादुर राई छन् ।

गएको आईतबार बसेको कार्यपालिका बैठकले आगामी फागुन २ र ३ गते छैटौं नगरसभा गर्ने निर्णय गरेको छ । आईतबार नै कर समायोजन कार्यदल गठन गर्ने सम्बन्धमा १३ सदस्यीय समिति गठन समेत गरेको थियो । कर समायोजन कार्यदलको संयोजकमा वडा नं १५ का अध्यक्ष नरेश इवारम छन् भने सहसंयोजकमा वडा नं १८ का अध्यक्ष नरेन्द्र राई (प्रविण) छन् ।