धरान । कोरोनाभाइरसका कारण चीनको हुबे प्रान्तमा सोमबार एकैदिन १ सय ३ जनाको ज्यान गएको छ ।

एकैदिन ज्यान गुमाउनेको संख्या हालसम्मकै सर्वाधिक संख्या हो । आइतबार ९७ जनाको ज्यान गएको थियो । कोरोनाभाइरस हुबे प्रान्तबाटै शुरु भएको थियो । भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । ज्यान गुमाउनेको संख्या बढिरहेका बेला चिनियाँका केही बरिष्ठ अधिकारीहरू कारबाहीमा परेका छन् ।

चीन सरकारले प्रकोप नियन्त्रणका लागि परिचालन गरेका अधिकारीहरूलाई कारबाही गरेको हो । जसमा चिनियाँ कम्युनिष्ट पार्टीबाट हुबे स्वास्थ्य आयोगमा खटिएका पार्टी सचिव तथा आयोगका प्रमुख घटुवामा परेको बताइन्छ । त्यस्तै चन्दा हिनामिना गरेको आशङ्कामा स्थानीय रेडक्रसका सहायक निर्देशक पनि पदमुक्त बनेको विदेशी मिडियाले लेखेका छन् ।

चीनमा मात्रै कोरोनाभाइरसका कारण ४२ हजार २ सय जना संक्रमित भएको उल्लेख गरिएको छ । हङ्कङमा पनि ४२ जनामा कोरोनाभाइरस भएको पुष्टि गरेको छ । कोरोनाभाइरसको महामारी फैलिरहेका बेला सबैजसो देशमा उच्च सतर्कता अपनाउन थालिएको छ । चीनमा उडान हुने हवाई सेवासमेत ठप्प पारेका छन् । कतिपय खेलहरूसमेत स्थगित भएका छन् ।

चीनमा हुन लागेको बास्केटबलको छनौट खेलसमेत स्थगित गरिएको छ । कोरोनाभाइरस सन् २००२ र २००३ मा फैलिएको सार्स रोगभन्दा खतरनाक रहेको बताइन्छ । सार्स रोगभन्दा यो रोगबाट मर्नेको संख्या बढेको छ । चीनका राष्ट्रपति सी जिनपिङले उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई सोमबार भेटेका छन् । उनले भाइरसलाई नियन्त्रण गर्नका लागि थप उपायको आवश्यकता रहेको बताए ।