धरान । दुबईमा घरेलु श्रमिकको रूपमा रहेकी एक नेपाली महिलाको स्मरणशक्ति गुम्दा समस्या उत्पन्न भएको छ ।

दुबईको एक अस्पतालले उपचारपछि डिस्चार्ज गरिए पनि स्मरणशक्ति गुमेका कारण उनले आफू बसेको ठेगानालगायत बताउन सकिरहेकी छैनन् । यमकुमारी थापा नाम बताउने ति महिले आफ्नो नाम र आफ्नो एउटा छोरो भएको मात्रै बताउने गरेको खालिज टाइम्सले उल्लेख गरेको छ । ती महिलालाई अहिले दुबईमा सामाजिक कार्यकर्ता लैला अबु बकरले आश्रय दिइरहेकी छन् ।

हस्पिटलले एक साताअघि नै डिस्चार्ज गरे पनि उनको आफन्त तथा मालिकसमेत सम्पर्कमा नआएपछि अस्पतालले सामाजिक कार्यकर्ताको जिम्मा लगाएको थियो ।

सामाजिक कार्यकर्ता अबु बकरले ति महिलालाई चिन्ने आफन्तजन, इष्टमित्रहरूलाई सम्पर्क गर्नका लागि आग्रह गरेकी छन् । उनी अज्ञात रोगबाट अचेत बनेपछि उनलाई स्थानीय एक अस्पतालमा उपचारमा लगिएको थियो । उनको मस्तिष्कको सल्यक्रिया गरिएको थियो । हाल उनको स्वास्थ्य अवस्था ठीक भए पनि उनको स्मरणशक्ति गुम्दा समस्या भएको छ । उनी घरेलु कामदारको रूपमा सन् २०१४ मा दुबई प्रवेश गरेको देखिन्छ । ति महिला अरबिक, नेपाली र हिन्दी भाषा बोल्न सक्छिन् ।

अरबिक भाषामा पनि दख्खल राख्ने भएकाले ती महिला घरेलु कामदारको रूपमा रहेको खुल्न आएको छ । सामाजिक कार्यकर्ता अबु बकरले दुबईस्थित नेपाली दूताबासलाई यसबारेमा जानकारी गराउने तयारी गरेकी छन् ।

‘अहिले मसँगै छिन्, तर, चाँडै नै उनलाई चिन्ने आफन्तले लिएर जानेमा म पूर्णतः विश्वस्त छु’ खलिज टाइम्सलाई उनले भनेकी छन्, ‘उनको विषयमा दुबईस्थित दूताबासलाई पनि जानकारी गराउँदै छु ।’ उनलाई चिन्न सक्ने अवस्था आएमा नेपाल नै फर्काउन आफू तयार रहेको बताएकी छन् ।