धरान । दुबईको बरदुबईमा रहेको हिन्दू धर्मालम्बीको मन्दिर क्षेत्रको पसलमा आगलागी भएपछि एक दिन बन्द रहेको मन्दिर मङ्गलबार साँझबाट खुलाइएको छ ।

तर, निश्चित समयमा मात्रै भक्तजनहरू पूजाका लागि जान पाउने गरी मन्दिर प्रवेशका लागि खुलाइएको हो । मन्दिर क्षेत्रमा सोमबार बिहान आगलागी भएको थियो । आगलागीबाट २ वटा पसल सम्पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

आगो सोमबार साँझ मात्रै नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ । मन्दिरमा यसअघि पनि दुई पटक ठूला आगलागी भएका थिए । सन् १९७७ मा पहिलो पटक आगलागी भएको थियो । सिन्धी गुरुद्वाराका अध्यक्ष भासु सरर्फका अनुसार २० वर्षअघि पनि मन्दिर क्षेत्रमा ठूलो आगलागी भएको थियो । त्यसबेला पनि सम्पूर्ण सामग्रीहरू जलेर नष्ट भएको थियो ।

अहिले फेरि यस्तै प्रकृतिको घटना भएको उनले जानकारी दिएको गल्फ न्यूजमा उल्लेख छ । उनले साँझ ६ बजे भक्तालुहरू पूजाका लागि मन्दिर प्रवेश गर्न पाउने गरी समय तालिका मिलाइएको छ । आगलागी भएको क्षेत्रमा अहिले सफा गर्ने काम भइरहेको छ । पसलभन्दा माथिल्लो तलामा बस्दै आएका मन्दिरमा कार्यरत ६ जना कर्मचारीलाई आगो लाग्न शुरु भएपछि नै उद्धार गरिएको छ ।