भद्रपुर/ इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लामो समयपछि यौनजन्य क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान मेचीनगर नगरपालिका वडा नं. ६ स्थित सडकमा अन्दाजी २०–२१ वर्षका २ जना युवतीलाई शङ्कास्पद अवस्थामा फेला पारी सोधपुछको आधारमा यौनजन्य क्रियाकलापमा संलग्नलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

युवतीले दिएको जानकारीका आधारमा गएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं. ७ स्थित प्यारीभिट्टामा रहेको १६ कोठा भएको ४ तले घर भाडामा लिई युवतीहरू राखी घरमा रहेका विभिन्न कोठाहरूमा ग्राहकहरू बोलाई ग्राकहरूसँग मोटो रकम लिई युवतीहरूसँग यौन सम्पर्क गराउने गरेको पाइएको इलाका डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिए ।

युवतीले दिएको सूचनाका आधारमा मोरङ विराटनगर उपमहानगरपालिका–५ घर भई हाल झापा मेचीनगर नगरपालिका वडा नं. ७ बस्ने ४४ वर्षीय तुलसी कट्टेल, मेचीनगर नगरपालिका वडा नं. ७ का ५८ वर्षीय हरि भन्ने शिवप्रसाद घिमिरे र मेनपा–६ का ४६ वर्षीय सूर्य भन्ने श्यामप्रसाद शिवाकोटीलाई नियन्त्रणमा लिएको उनले बताए ।

पक्राउ परेकाहरूले युवतीहरूलाई अन्य होटलहरूमा समेत रातको समयमा लगी ग्राहकसँग पैसा लिने, होटलमा पु¥याइदिने र बिहान पुनः होटलबाट लिई सोही घरमा राखी दिनभर ग्राहकसँग यौन धन्दा सञ्चालन गरेको पाइएको उनले बताए ।

युवतीहरूले एक दिनमा ५ देखि ६ जना व्यक्तिसँग यौनसम्बन्ध राख्न लगाउने गरेको, प्रतिव्यक्ति प्रतिघण्टा ५ सय र रातको समयमा बाहिर होटलमा पठाउँदा प्रतिरातको २५ सयसम्म दिने प्रलोभनमा पारेको अनुसन्धानमा खुलेको उनले जनाए । मालिकले भने प्रतिव्यक्ति १० हजारसम्म रकम लिने गरेको खुल्न आएको उनको भनाइ छ ।

घटनापछि भक्तपुर र मोरङ घर बताउने युवतीहरूलाई आवश्यक पुनस्र्थापनाको लागि काठमाडांै पठाइएको र पक्राउ परेकालाई बिहीबार मानव बेचबिखनमा मुद्दा दर्ता गराएको डिएसपी पोखरेलले जानकारी दिए । झापाका विभिन्न शहरमा यौनजन्य गतिविधि हुने गरे पनि प्रहरीको सक्रियता भने कमै रहेको पाइएको छ ।

झापाको बिर्तामोड, काँकडभिट्टा, दमक, भद्रपुर, चन्द्रगढीलगायतका शहरहका केही होटल तथा घरभाडामा लिएर यौनजन्य क्रियाकलाप हुँदै आएको छ । अन्य क्षेत्रमा प्रहरीले बेलाबखत संलग्नलाई पक्राउ गर्दै आइरहे पनि हालसम्म भद्रपुर र चन्द्रगढी क्षेत्रमा प्रहरीले छापा मारेको पाइएको छैन । अन्य क्षेत्रमा प्रहरीको डर भए पनि भद्रपुर र चन्द्रगढी क्षेत्र यौनजन्य क्रियाकलापको लागि सुरक्षित मानिदै आएको जानकारहरू बताउँछन् ।