धरान । कोरोनाभाइरसको इपिसेन्टर चीनको वुहानबाट उद्धार गरिएको युक्रेनी नागरिकमाथि आफ्नै देशका प्रदर्शनकारीहरूबाट आक्रमण भएको छ ।

कोरोनाभाइरसको संक्रमणबाट प्रभावित बनेकाहरूलाई उद्धार गरिएको सवारीसाधनमाथि प्रदर्शनकारीहरूले आक्रमण गरेका छन् । उनीहरूलाई युक्रेनको नोभी साञ्जारीस्थित एक अस्पतालमा क्वारेन्टाइनमा राख्नका लागि लगिँदै गरेको बेला आक्रमण भएको हो ।

उनीहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने तयारी रहेको थियो । जसमा ४५ जना युक्रेनी र २७ जना विदेशी नागरिकलाई वुहानबाट उद्धार गरी ल्याइएको थियो । पूर्वी युक्रेनको हार्किभ क्षेत्रमा ल्याइएका उनीहरूलाई कोरोनाभाइरस लागेको दाबी गरिएको थियो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रदर्शनकारीहरूलाई संयमित रहन आग्रह गरेका छन् । यता युक्रेको स्वास्थ्य मन्त्रालयले बसमा सवार रहेका मानिसहरू कोही पनि बिरामी नभएको स्पष्ट पारेको छ ।