बिर्तामोड / लिग विजेता मच्छिन्द्र क्लबले यसबर्षको गोल्डकपमा बिजयी यात्रा प्रारम्भ गरेको छ । तेस्रो सताक्षी गोल्डकपको उपाधि हात पारेसँगै मच्छिन्द्र क्लबले उपाधि यात्रा शुरु गरेको हो । उसले तेस्रो सताक्षी गोल्डकपको उपाधिसँगै नगद ६ लाख रुपैयाँ हात पारेको छ ।
लिग समाप्त भएपछि देशभर गोल्डकप आयोजना हुन शुरु भएको छ । आइतबार झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा भएको फाइनल खेलमा थ्रि स्टार फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै मच्छिन्द्र क्लब च्याम्पियन भएको हो । उपविजेता थ्रि स्टारले ३ लाखमा चित्त बुझायो ।
लिग सकिएको एक सातापछि सताक्षी गोल्डकपको तेस्रो संस्करणमा उनीहरु मोफसलको पहिलो उपाधिका लागि खेलेका थिए । लिगको ५९ औँ खेलमा मच्छिन्द्रले थ्रि स्टारलाई २–० गोल अन्तरले हराएको थियो । लिगमा थ्रि स्टारविरुद्ध मच्छिन्द्रको जितमा रेजिन सुब्बा र विशाल राई ’बी’ ले एकएक गोल गरेका थिए ।
खेलको तेस्रो मिनेटमा पाएको पेनाल्टी गोल नै मच्छिन्द्रलाई जितका लागि निर्णायक बन्यो । खेलको दोस्रो मिनेटमा मच्छिन्द्रका अडेलाजा सोमिडेलाई पेनाल्टी एरियाभित्र थ्रि स्टारका अशोक खवासले लडाएपछि मच्छिन्द्रले पेनाल्टी पाएको थियो । त्यस्तै, नवौँ मिनेटमा विशाल राई ‘बि’ को प्रहार थ्रि स्टारका गोल रक्षक पूर्ण चेम्जोङले बचाए ।
२३ औँ मिनेटमा पेनाल्टी एरिया नजिकबाट थ्रि स्टारका लालरामको प्रहार बार नजिकबाट बाहिरियो । ३९ औँ मिनेटमा अशोक खवासको पासमा लालरामको हेडर बाहिरियो । ४३ औँ मिनेटमा मच्छिन्द्रका गोल रक्षक विशाल श्रेष्ठ बिट भएको मौकामा लालरामले गरेको प्रहार रक्षक देवेन्द्र तामाङले गोल लाइन नजिकबाट उत्कृष्ट क्लियर गर्दै बराबरी हुनबाट जोगाए ।
खेलको ४६ औँ मिनेटमा रेजिन सुब्बाको पासमा विमल घर्ती मगरको प्रहार आकाशियो । । ६६ औँ मिनेटमा आन्द्रेसको हेडर रिबाउन्ड हुँदा विशाल राई ‘बि’ को प्रहार गोल किप्पर चेम्जोङले पञ्च गरेर बचाए । ७४ औँ मिनेटमा मिक्चेनको फ्रिकिक प्रहार मच्छिन्द्रका खेलाडीको बारमा लागर फर्कियो । फाइनल खेलको म्यान अफ दि म्याच मच्छिन्द्रका देवेन्द्र तामाङ भए । उनले नगद १० हजार पाए ।
त्यस्तै, प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्ट थ्रि स्टारका कप्तान विक्रम लामा भए । उनले नगद ५० हजार प्राप्त गरे । हाइ स्कोरर थ्रि स्टारकै सञ्जोग राई भए । प्रतियोगिताभरि दुई गोल गरेका उनले नगद २५ हजार पाए । प्रतियोगिताको उत्कृष्ट गोल रक्षक विजेता टिमका विशाल श्रेष्ठ, बेस्ट डिफेन्स मच्छिन्द्रका पिटर सेगुन, बेस्ट मिडफिल्ड थ्रि स्टारका रुपेश केसी, बेस्ट फरवाड मच्छिन्द्रका रेजिन सुब्बा र बेस्ट कोच विजेता टिमका प्रवेश कटवाल घोषित भए । उनीहरुले जनही २० हजार रुपैयाँ पाए । उदयीमान खेलाडीका रुपमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबका सञ्जीत राईलाई नगद २० हजार रुपैयाँ प्रदान गरियो ।
उनीहरुलाई प्रमुख अतिथि अखिल नेपाल फुटबल क्लब (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, आयोजक क्लबका अध्यक्ष रमेश लावतीलगायतले नगद, ट्रफी तथा मेडल प्रदान गरेका थिए । सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको आयोजक सतासीधाम स्पोर्टिङ क्लबका उपाध्यक्ष फुर्वा तामाङले बताए ।
कार्यक्रममा (एन्फा) अध्यक्ष शेर्पाले आगामी बर्षदेखि सताक्षी गोल्डकपको मुख्य प्रायोजक आफूले व्यवस्थापन गरिदिने प्रतिबद्धता व्यक्त गरे । उनले शिवसताक्षी नगरपालिका र एन्फाले सताक्षी गोल्डकपलाई अझ भव्य र व्यवस्थित बनाउने बताए । उपाध्यक्ष नेम्वाङले मोफसलका गोल्डकपलाई आगामी दिनमा एन्फाले परिस्कृत गर्दै लैजाने बताएका थिए ।