भद्रपुर । नेपाली सेनामा कार्यरत एक व्यक्तिले सडक पेटीमा भेट्टाएको नगद एक लाख रुपैयाँ प्रहरीले सम्बन्धित व्यक्तिलाई आइतबार फिर्ता गरेको छ ।
दमक नगरपालिका–६ फर्निचर लाइन सडक किनारमा बेवारिसे अवस्थामा रहेको एक हजार दरका एक सय थान गरी जम्मा एक लाख रुपैयाँ श्री २१ नम्बर बाहिनी अड्डा तोपगाछी झापामा कार्यरत प्युठ मेघबहादुर अधिकारीले फेला परेका थिए । सडकमा फेला पारेको सो रकम अधिकारीले इलाका प्रहरी कार्यालय दमकमा बुझाएको प्रहरी कार्यालय जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

रकम शिवसताक्षी नगरपालिका– ९ का ३९ वर्षीय भीमबहादुर लिम्बूको रहेको प्रहरीले जनाएको छ । रकम धनी लिम्बूले आवश्यक कागजातसहित प्रमाण पेश गरेपछि उनलाई रकम फिर्ता दिइएको प्रहरीले जनाएको छ । रकम हस्तान्तरण कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डित, श्री २१ नं. बाहिनी तोपगाछीका सेनानी प्रभातकिरण श्रेष्ठ, इलाका प्रशासन कार्यालय दमकका प्रतिनिधि, दमक ७ नम्बर वडा ध्यक्ष भीम पौडेलको उपस्थिति रहेको थियो ।