विराटनगर / वर्षौदेखि बसोवास गर्दै आएका विराटनगर– १ पोखरिया भट्टा चोकका सुकुम्बासीहरूको घरमा डोजर लगाएर हटाएको छ ।
यहाँका करिब सात घर परिवार सुकुम्बासीहरूलाई विराटनगर महानगरपाकिलाले कुनै पनि विकल्प नदिकन मंगलबार डोजर लगाएर हटाएका हुन ।
स्थानीय जय कामतका अनुसार डेढ कट्ठा सार्वजनिक जग्गामा संरचना बनाएर सुकुम्बासी बसेका थिए । कुनै पनि विकल्प नदिएकन र कुनै ठाउँमा बसोबासको व्यवस्था नगरिकन घर–टहरा भत्काएर सुकुम्बासीलाई घरबार विहीन बनाइएको कामतको भनाइ छ ।
स्थानीय ६२ वर्षीया बीबी हसिना खातुनले घरबार विहीन भएका कारण अब कहाँ गएर बस्ने भन्ने चिन्ता थपिएको बताइन् । ३५ वर्षदेखि बसोबास गरिरहे पनि एक्कासि आएर घर भत्काउँदै महानगरले आफूहरुलाई थप पीडित बनाएको उनको गुनासो छ । ‘आफुसँग भएको यही सानो टहरामा रात कटाउने गरेको थिए,’ महानगरले भत्काइदिएको टहरा देखाउँदै उनले भनिन्, ‘आर्थिक अवस्था नाजुक भएको आफु कहाँ गएर शरण लिनु । टाउँको लुकाउने ठाउँ पनि छैन ।’ स्थानीय बासिन्दाले नजिकैको परोपकार घाटमा रहेको चार बिघा जग्गा ओगटेर बसेकालाई एक सय बढी परिवारलाई नहटाएको र गरिब तथा जग्गा विहीन सुकुम्बासी बसेका टहरा भने भत्काइएको भन्दै विरोध गरेका छन् ।
उनको परिवारमा छोरा मोहम्मद अब्सरले ज्याला मजदुरीबाट गरेको कमाइबाट आठ जना पालिनु पर्ने अवस्था छ । अब्सरका चार साना छोरीहरु छन् । आमा र बुवा वृद्ध अवस्थामा छन् । श्रीमती छोरीहरू र वृद्ध अवस्थाका आमा र बुवाको स्याहारमा हुन्छिन् । अब्सर दिनभर ज्याला मजदुरी गरेर कमाएको पैसाले परिवारको गर्जो टार्थे । ‘पैसा नभएका कारण बिरामी पर्दा हामी अरुसँगै मागेर उपचार गर्ने गरेका थियौं,’ उनले भने, ‘अब झन् घरबार बिहीन बनाइएकाले टाउको लुकाउने ठाउँ पनि भएन ।’
अब्सरले महानगरपालिकाले घरबारबिहीन बनाएर आफ्नो परिवारलाई दुःखमाथि पीडा थपिदिएको बताए । आफूहरूलाई विकल्प दिएर अन्यत्र बसोबासको व्यवस्था गर्न उनले माग गरेका छन् । नेपाल भूमिहीन सुकुम्बासी संगठन विराटनगर महानगर कमिटीका अध्यक्ष बुद्धिमान लिम्बूले भूमिहिन सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गरिनु पर्ने, हटाउनुअघि नै सुकुम्बासीलाई पुर्नवासको व्यवस्था गरिनु पर्ने आफूहरुको मागमा महानगरले बेवास्था गरेको बताए ।
सुकुम्बासीका नाममा ३५ वर्षदेखि सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरा भत्काएर जग्गा खाली गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले बताए । ती घर–टहरामा मोहम्मद नसिर, जमिल अन्सारी, जाकिर शेख, जहाँगिर शेख, रियाज उद्धिन शेख, मोहम्मद साहदत शेख र फारुक शेखको परिवार बस्दै आएका थिए । जग्गा खाली गर्न सूचनामार्फत आग्रह गरे पनि अटेर गरेपछि बल प्रयोग गरेरै टहरा हटाएको उनले बताए । अतिक्रमण गरेर संचरना निर्माण गरिएका सार्वजनिक जग्गा खाली गर्नका लागि सूचना प्रकाशित गरेर दिएको अल्टिमेटम नमानेपछि बल प्रयोग गरेर टहरा भत्काउँदै जग्गा खाली गर्नु अधिकारीले बताए । ‘महानगरले दिएको अल्टिमेटमलाई बेवास्था र अटेर गरिएपछि बल प्रयोग गरेर संरचना हटाइएको हो,’ उनले भने, ‘यसरी अतिक्रमित भएका सबै जग्गा खाली गराउने महानगरको योजना छ ।’
महानगरले डोजर लगाएर सुकुम्बासीको घर टहरा भत्काउने क्रममा स्थानीय बासिन्दा र टहरा भत्काउन पुगेको टोलीबीच विवाद भएपछि केही बेर तनाव उत्पन्न भएको थियो । स्थानीय बासिन्दाले घर भत्काउन पुगेको नगर रक्षक र प्रहरीको टोलीको फोटो र भिडियो लिन थालेपछि तनाव सुरु भएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले महानगरको आग्रह अनुसार घर–टहरा भत्काउने कार्यमा प्रहरीले सुरक्षा प्रदान मात्रै गरेको जानकारी दिए । घर–टहरा भत्काउने ठाउँमा राई नेत्रृत्वको प्रहरी टोली थप मद्धतका लागि पुगेको थियो ।