धरान /  कोरोना भाइरस (कोभिड–१९) संक्रमणको शंका लागे शुक्रबार देखि सक्रिय बनाइएको दुइ वटा मोबाइल नम्बरमा जो कोहिले फोन गरेर चिकित्सकबाट आवश्यक सल्लाह सुझाव लिन सक्ने छ ।
विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेल्प लाइनको रुपमा ९८०२७९५२५२ र ९८०२७९५३४९ नम्बरमा सर्वसाधारणले फोन गरेर बुझ्न सक्ने छन् । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक तथा कोरोना भाइरस ¥यापिड रेस्पोन्स कमिटिका सदस्य डा विकास साहका अनुसार रुघामार्गी, ज्वरो, स्वास्प्रस्वास जस्ता समस्या आए उल्लेखित मोबाइल नम्बरमा सम्पर्क गरेर आवश्यक सुझाव लिन सक्नेछन् । उनले भने, ‘व्यक्तिले दिएको विस्तृत जानकारीको आधारमा चिकित्सकले कोरोना भाइरस संक्रमण भएको हो वा नभएको हो, भएको भए के गर्ने, कहा कसरी जाने सल्लाह दिने छन् ।’
यसैवीच प्रदेश नम्बर १ सरकारले कोरोनाको संक्रमणको जोखिम कम गर्न भारतसंग जोडिएका सवै नाका बन्द गर्नुपर्ने निर्णय गरेको छ । संघीय सरकारसंग भारतीय सिमा जोडिएका सिमा बन्द गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले सिमानामा आवत जावत हुने नाका बन्द गर्न केन्द्र सरकारसंग आग्रह गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । उनले प्रदेशका नाकाहरुमा अत्याबश्यक बस्तुको आपुर्ती बाहेक दुवैतर्फका मानिसका आवत जावत रोक्ने निर्णय भएको बताए ।