धरान । लकडाउन उल्लंघन गरेको आरोपमा धरान प्रहरीले बुधबार १५ महिलासहित १६९ जनालाई नियन्त्रणमा लिएर पुनः बाहिर ननिस्किने शर्तमा साँझ छाडेको छ ।

फेरि आज पनि यस्ता गतिविधि सर्वसाधारणबाट कायमै छ । हरेक दिनजसो प्रहरीका लागि सर्वसाधारण टाउँको दुखाइको विषय बनेको छ । एकातिर कोरोनाभाइरसको संक्रमणको चिन्ता त छदैँछ । अर्कोतिर सर्वसाधारणको अटेरीका कारण प्रहरी प्रशासन नै हैरान भएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले हिजोको तुलनामा आज मानवीय गतिविधि शून्यमा झर्दै गएको बताए । उनले आफू बजारतिरै रहेकाले अहिलेसम्म मानिसहरु पक्राउ गर्ने काम नभएको बताए ।

प्रहरीले बुधबार दिनभरिमा १ सय ६९ जनालाई नियन्त्रण लिएको थियो । जसमध्ये सवारी साधनहरु पनि नियन्त्रणमा लिइएका थिए । जसमा मोटरसाइकल र स्कुटी गरी ४३ वटा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । त्यस्तै ८ वटा टेम्पु र सिटी सफारी नियन्त्रणमा लिइएका थिए भने एउटा ट्रक पनि नियन्त्रणमा लिएको थियो ।

तीन वटा साइकल पनि नियन्त्रणमा लिइएका थिए । जनमानसले कोरोनाभाइरसलाई सामान्य रुपमा लिएका कारणले पनि अहिले समस्या भइरहेको चिकित्सकहरु बताउँछन् । जबकि विश्वका १ सय ७३ देशलाई प्रभावित बनाइरहेको कोरोनालाई विश्व स्वास्थ्य संगठनले महामारीको रुपमा घोषणा गरिसकेको छ । यो रोगलाई मानवकै निम्ति खतरापूर्ण रहेको दाबी गरिएको छ ।

चीनको वुहानबाट शुरु भएको यो रोगले अहिले विश्वभर आक्रान्त छ । यो भाइरसलाई रोक्नका लागि एकमात्रै उपायको रुपमा लकडाउनलाई लिइन्छ । चिकित्सकका अनुसार लकडाउनको अर्थ मानव गतिविधि शून्य अवस्थामा रहँदा भाइरसको फैलावट कम हुँदै जान्छ । जुन हिसाबमा फैलिरहेको छ । मानव गतिविधि कम हुने बित्तिकै भाइरसको मृत्यु हुन्छ । जुन चेनमा फैलिरहेको छ त्यो चेन नै भत्किएपछि मात्रै भाइरसलाई नियन्त्रण लिन सकिने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐर बताउँछन् । ‘त्यो चेन भत्काउनकै लागि नै लकडाउन गरिएको हो’ उनले भने ।

बीपी प्रतिष्ठानको आइसोलेसनमा ७ जना छन् भने ५ जना होम क्वारेन्टाइनमा राखिएको छ । २ जनालाई मोरङको टाँडीस्थित क्वारेन्टाइनमा पठाइएको छ ।

मावनीय त्रुटिका कारण नै इटाली अहिले सबैभन्दा बढी आक्रान्त बनेको निश्कर्ष निकाल्न थालिएको छ । सुविधा सम्पन्न देश भएर पनि नियन्त्रणमा आउन नसक्नुको पछाडिको कारण नै त्यही रहेको निश्कर्ष निकालिँदै छ । विश्वमा अहिले ४ लाख ७० हजार ९ सय ७३ जना संक्रमित रहेको समाचार सार्वजनिक भएको छ भने २१ हजार २ सय ७६ को मृत्यु भइसकेको छ ।