ब्लाष्टखबर । धरान ६ पानबारीमा लकडाउन उल्लङ्घन गरेको भन्दै स्वास्थ्यकर्मीले कुटाइ खाएका छन् ।
बिहीबार स्वास्थ्यकर्मी चन्द्रप्रकाश खनाललाई धरानकाे पानमारा प्रहरी चौकीका प्रमुख सई भेषबहादुर राउतले पाइपले कुटपिट गरेको खनालले बताएका छन् । धरानबाट पानमारास्थित एक विरामीको ड्रेसिङ गर्न जानेक्रममा उनीमाथि कुटपिट गरिएको खनालको भनाइ छ ।
पानमारा प्रहरी चौकीका प्रमुख सई भेषबहादुर राउतले भने पानबारीस्थित मितेरी बैंक नजिकै बिहान भिड बढ्न थालेपछि भिडलाई हटाउने क्रमा दुध लिन पुगेका खनाललाई लागेको हुनसक्ने बताएका छन् ।
उनले भने ' भिड हुन थाल्यो हामीले भिडहटाउने क्रममा वहाँलाई लागेको हो । वहाँलाई लागि सकेपछि हामीलाई परिचय पत्र देखाउनु भयो हामीले नियत बनाएर वहाँलाई कुटेको हैन । तर वहाँ विरामी हेर्न नभइ दुध लिन आउनु भएको रहेछ ।'
धरान २० बिष्णुपादुकाको स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्टको रूपमा कार्यरत खनालको घाटी नजिकैको भागमा सुम्ला बसेको छ ।
उक्त घटनालाई लिएर अहिले धरान उपमहानगरपालिकामा उपमहानगर अन्तर्गतको स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरुको आकस्मिक भेला भइरहेको छ । धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख रामबाबु यादवले भने स्वास्थकर्मी खनालले घटनाको बारेमा जानकारी गराइसकेको बताउदै, प्रहरीबाट पनि जानकारी लिने बताए । यादवले भने ' एक पक्षको कुरा सुनियो स्वास्थ्यकर्मीहरुको भेला भैरहेको छ । मेयर साव पनि आदै हुनुहुन्छ । अहिलेको अवस्थालाई हेरेर प्रहरीको पनि कुरा सुन्नु पर्ने हुन्छ । '