धरान / राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ जारी गरेकी छन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन । सोमबार दिउँसो मन्त्रिपरिषद् बैठकले यी दुवै अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राजनीतिक दलसम्बन्धिको विधेयका विषयमा नेकपा भत्रै खटपटसमेत भएको छ ।

राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पुर्‍याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ । यस विषयमा केही नेताहरुले असन्तुष्ट जनाएको पाइएको छ ।

आकस्मिक रूपमा दलसम्बन्धी अध्यादेश जारी भएपछि राजनीति माहौल तातिएको छ । आजै नेकपाको सचिवालय बैठक बसिरहेको छ । सामाजिक सञ्जालमा पार्टी फुटको स्थितिमा पुगेको भन्दैं नेता तथा कार्यकर्ताहरुले टिका टिप्पणी गरिरहेका छन् भने प्रतिपक्ष दल काङ्ग्रेसभने रमिता हेरिरहेको छ ।