धरान । नेपाल प्रेस युनियन सुनसरीले सोमबार जुम एप्स प्रविधिको प्रयोग गरेर बैठक सम्पन्न गरेको छ ।

अध्यक्ष धनबहादुर पुरीले अर्का अध्यक्ष पवन अधिकारीलाई जिम्मेवारी सुम्पिएलगत्तै अधिकारीको अध्यक्षतामा बैठक सम्पन्न गरेको हो । बैठकमा पूर्वअध्यक्षहरू सहभागी थिए । बैठकले पत्रकारहरूका लागि मास्क, सेनिटाइजरलगायतका सामग्री वितरण गर्ने निर्णय भएको अध्यक्ष अधिकारीले बताए ।

कोरोना महामारीका कारण सरकारले गरेको लकडाउनले दैनिक भेटघाटमा समस्या भएपछि अध्यक्ष अधिकारीले प्रविधिको प्रयोग गरेर बैठक बसालेका हुन् । बैठकले डिजिटल पात्रो निर्माण गर्ने निर्णय समेत गरेको छ । उक्त पात्रो डाउनलोड गरेर हेर्न मिल्ने गरीको बनाइने भएको अध्यक्ष अधिकारीले जानकारी दिए । पत्रकारहरूका लागि एक हजार मास्क र सेनिटाइजर मंगलबारबाट वितरण गरिने बताए ।

त्यस्तै पत्रकारहरूको दुर्घटना बिमाको विषयमा पनि आफूले योजना बनाइरहेको र लकडाउनलगत्तै यसबारे निर्णय गरेर जाने बताए । पूर्वअध्यक्ष कृष्ण अधिकारी, चेतन धमला, गणेश निरौलालगायत बैठकमा सहभागी बनेका थिए । प्रेस युनियनले श्रमजीवी पत्रकारको हकहितका लागि सधै काम गर्नुपर्ने सुझाव पूर्वअध्यक्षहरूले दिएका थिए ।