धरान / कोभिड –१९ संक्रमण भएर उपचारका लागि आइसोलेसनमा राखिएका ३० जना कोरोना मुक्त भए पछि विहीबार विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डिस्चार्ज गरिएको छ । आइशोलेसनमा बसेको करिव १२ दिन पछि प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पिसिआर जांच गर्दा नेगेटिभ रिपोर्ट आएकाले डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता प्रा डा निदेश सापकोटाले बताए ।

उनका अनुसार डिस्चार्ज हुने सवै झापाका बासिन्दा हुन् । डिश्चार्ज हुनेहरुको उमेर १८ बर्षदेखि ४५ बर्षका छन् । यसअघि प्रतिष्ठानबाट बुधबार एकजना डिस्चार्ज भएका थिए भने एकसाता अघि २८ जना डिश्चार्ज गरिएका थिए । डिश्चार्ज भएकाहरुलाई लिन झापाबाट यात्रुवाहक बस ल्याइएको थियो ।

प्रवक्ता डा सापकोटाका अनुसार प्रतिष्ठानको आइसोलेसनमा गत बुधबार ल्याइएका आठजनासहित ३४ जनामात्र रहेका छन् ।