ताप्लेजुङ/ नाबालिकालाई अपहरण गरी, शरीर बन्धक तथा जबर्जस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ प्रहरीले देवर–भाउजूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फुङ्लिङ नगरपालिका–४ का ३५ वर्षीय शङ्कर लुइटेल र ३८ वर्षीया गोमा कार्की लुइटेल रहेका छन् । शङ्कर र गोमा नाताले देवर–भाउजू हुन् ।
परिवारको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्र श्रेष्ठले बताए । जाहेरीमा २०७५ मङ्सिर १० गते नाबालिकालाई प्रलोभनमा पारी झापा लगेर बन्धक बनाई करणी गरेको, मङ्सिर १३ गते काठमाडौंको गुह्येश्वरी मन्दिरमा लगी विवाह गरेको उल्लेख छ ।
विवाह गरेपछि पुनः झापास्थित घरमा ल्याई २०७६ चैत्र ७ गतेसम्म शरीर बन्धक बनाई करणी गर्दै आएको र बालिका उम्किन सफल भएर फुपूको घरमा पुगेको जाहेरीमा उल्लेख भएको श्रेष्ठले बताए । सबै कसूरमा देवर–भाउजूको मिलेमतो रहेको बालिकाका परिवारको दाबी छ ।
त्यसपछि परिवारले प्रहरीमा जाहेरी दिएका थिए । दुवै जनालाई साउन ८ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।