भद्रपुर/झापामा रहेको सशस्त्र प्रहरीले सामान बरामद गर्न चासो नदेखाएपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीको निर्देशनमा ठूलो परिमाणमा नेपालमा प्रतिबन्धीत रेडबुल बरामद गरेको छ ।

रेडबुलको तस्करी भइरहेको विषयमा पटक–पटक सशस्त्र प्रहरी झापालाइ जानकारी गराउँदासमेत चासो नदेखाएपछि डिआइजीको कार्यालयमा गुनासो गरिएको स्रोतले जनाएको छ । गुनासोका आधारमा इलामको पशुपतिनगर हुदै दुइवटा भेन मार्फत भित्र्याइएको नेपालमा प्रतिबन्धीत १ सय १३ काटुन रेडबुल डिआइजी कार्यालयको निर्देशनमा सशस्त्र प्रहरीले झापामा बरामद गरेको हो ।

तस्करीको माध्यामबाट मे १ ज ३१४७ र मे १ ज २४१५ नम्बरको कालो प्लेटको भेनबाट ल्याइएको सामान बुधबार विहान झापाको विर्तामोड स्थित वसपार्क छेउबाट बरामद गरिएको शसस्त्र प्रहरी शनिश्चरे वेस क्याम्पले जनाएको छ ।

प्रदेश १ को शसस्त्र प्रहरी क्षेत्रीय कार्यालयबाट आएको विषेश सूचनाका आधारमा वेसक्याम्पका सइ अम्बर भुजेलको नेतृत्वमा गएको टोलीले सामान बरामद गरिएको क्याम्पका डिएसपी बिरेन्द्र खनालले जानकारी दिए । बिल बिजक केही फेला नपरेपछि भेन चालक पशुपतिनगरका २८ वर्षिय सञ्जय गुरुङ र सोही स्थानका २२ वर्षिय अनुपम थानीलाइ नियन्त्रणमा लिइएको उनले जनाए । भेनमा अन्य मानिस र चालक तत्काललाइ फरार रहेपनि केहीवेरपछि चालक सम्पर्कमा आएका उनले बताए ।

बरामद गरिएको सामानको अनुमानित मूल्य २ लाख ३५ हजार ९ सय ४४ रहेको उनको भनाइ छ । सामान र भेनलाइ आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइको उनले बताए । प्रहरीले बरामद गरेको रेडबुल बजारमा २ सय २० रुपैया भन्दा माथि बिक्री भइरहेपनि प्रहरीले मूल्याङ्कन भने घटाएर कायम गरेको छ । प्रहरीले कायम गरेको मूल्यमा पनि भन्सारले पुनः घटाउदै आइरहेको छ ।