धनकुटा/ धनकुटा पाख्रीबास नगरपालिका–८ भुँवरेका गणेश प्रधान र भोजपुरकी सजना श्रेष्ठबीच मन परापर भयो । गणेशले सजनालाई प्रस्ताव राखे, दुईबीच माया–प्रेम झाङ्गियो ।

गणेश विदेश जानुपर्ने भएपछि सजनालाई विहे गर्ने मनस्थिति बनाए । जात र परिवार पनि मिल्ने भएपछि ज्वाइँको हतारोमा सजनाको बुबा बमबहादुरले टीकोटालो गरिदिए । गणेशकै ढिपीका कारण बमबहादुरले नचाहेरै छोरी सुम्पिए । विहे भएको केही समयपछि नै ज्वाइँ गणेश विदेश हानिए, तर विदेश गएपछि भने पति–पत्नीबीचको सम्बन्ध बिग्रिन शुरु भयो ।

गणेशले आफ्नी पत्नी सजनाप्रति विभिन्न खालका आरोपहरू लगाउँदै फेसबुक तथा म्यासेञ्जरमा च्याटसहित भिडियो र अडियो कल गरे । यतिसम्म कि सजनालाई अश्लील गाली गरेका सयौं भिडियो, अडियो र च्याट गरे । विदेशबाटै बढेको तिक्तता स्वदेश आए पनि टुङ्गिएन । गणेश २०७६ सालमा विदेशबाट नेपाल आए पनि उनी सोझै घर नआई विभिन्न स्थानमा बसेको सजनाको बुबा बमबहादुरको भनाइ छ ।

बिग्रिँदै गएको सम्बन्धको परिणामस्वरूप अन्ततः सजना साउन २४ गते झुण्डिएको अवस्थामा फेला परिन् । माइती पक्षले गणेश र उनको परिवारले हत्या गरेको आरोप लगाउँदै आइरहेको छ । हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालय धनकुटामा निवेदन दिए पनि निवेदन नलिएपछि भने माइतीपक्ष थप सशङ्कित बनेका छन् । उनीहरूले ज्वाइँ गणेशसहित परिवारविरुद्ध किटानी जाहेरी दिए पनि जाहेरी नलिएपछि जिल्ला न्यायाधीवक्ताको कार्यालय धनकुटामार्फत् उजुरी दर्ता गर्दै पत्रकार सम्मेलन गरी न्यायको माग गरेका छन् ।

भोजपुर नगरपालिका–१० माइती घर भएकी ३४ वर्षीया सजनालाई क्वाँटी पूर्णिमाका दिन घर बोलाएर हत्या गरी झुण्ड्याएर आत्महत्या गरेको बनाउन खोजिएको माइती पक्षको दाबी छ । ‘सजना झुण्डिएको नभई, झुण्ड्याइएको हो’ बुबा बमबहादुरले भने, ‘घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई कानूनी कठघरामा उभ्याएर कारबाही गरिनुपर्छ ।’

विहेपछि ज्वाइँ (गणेश) लाई विदेश नगई पसल सञ्चालन गरेर बस्नुभन्दा पनि नमानी विदेश गएको र यहाँ आएपछि आफ्नो छोरीको हत्या गरेको आरोप उनको छ । मृतक सजनाको काका चक्रबहादुर श्रेष्ठले ज्वाइँले विदेशबाट फोन गरेर भतिजीलाई नेपाल आएर मारेर तीन महिना जेल बस्छु भनेर फोनमा धम्क्याएको बताए । उनले ज्वाइँ २०७६ असोजमा विदेशबाट आउँदा घर नआई केटी लिएर काठमाडौं, सुनसरीको तरहरातिरै बसेको समेत बताए ।

मृतकका ठूलोबुबा रामचन्द्र श्रेष्ठले विदेशबाट आएप्छि पनि पटक–पटक दुवै जनालाई राखेर मिलाउने प्रयास गरेको भए पनि अहिले आएर हत्या नै गरेको बताए । प्रहरीले घटना भएदेखि नै सजनाको आफन्तसँग अभद्र व्यवहार गरेको, फोटो खिच्नसमेत नदिएको, प्रमाणहरू नष्ट गर्न खोजेको, मुचुल्का बनाउँदा मृतकको माइती पक्षलाई बोल्न नदिएको उनको आरोप छ । ‘घटना घट्यो, अपराध हो कि होइन हामीलाई शङ्का लाग्यो दोषीलाई पक्राउ गरी आवश्यक अनुसन्धान गर भन्दा प्रहरी मान्दैन’ –उनले भने ।

माइती पक्षले पाख्रीबास–८ का ज्वाइँ गणेश प्रधान, ससुरा डम्बर प्रधान र सासू भीमकुमारी प्रधानविरुद्ध हत्याको जाहेरी दर्ता गरेका छन् । मृतकका आफन्तहरूले ज्वाइँ गणेशले फेसबुक म्यासेञ्जरमा सजनालाई गरेको १ सय ५६ पेज लामो अश्लील गालीसहितको ज्यान मार्न दिएको धम्की र अडियो रेकर्ड सुनाएका थिए । घटनाको प्रकृति र विभिन्न प्रमाणको आधारमा मृतक सजनाको हत्या भएको ठहर आफन्तहरूको छ ।

जाहेरी नलिएको विषयमा जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले प्रारम्भिक सर्जमिन मुचुल्का र शव पोष्टमार्टमका आधारमा आत्महत्या देखिएकोले हत्याको जाहेरी लिन नसकिएको बताए । उनले घटनाको अनुसन्धान जारी रहने बताए ।