धरान/ कर्तव्य ज्यान मुद्दाका फरार दुई प्रतिवादीलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०६४ वैशाख २८ गते विवाह भइरहेको समयमा साविकको एकम्बा गाउँ विकास समितिको ४ नम्बर वडाका सुरेनकुमार ठाकुरको हत्या गरी फरार रहेका दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । छुरा प्रहार गरी हत्या गरेको आरोप लागेर फरार रहेका टाइसन भनिने निङ्मादोर्जी शेर्पा र तुलसी चौधरीलाई पक्राउ गरिएको हो ।

लुकिछिपी रामधुनी नगरपालिका–६ मा बस्दै आएका सूचनाको आधारमा शेर्पालाई सोमबार पक्राउ गरिएको छ । त्यस्तै चौधरीलाई भने धनुषा जिल्लाबाट पिछा गर्दै सुनसरीको इनरुवा नगरपालिका–४ बसस्टेण्डबाट नियन्त्रणमा लिइएको हो ।

जिल्ला अदालत सुनसरीको २०७१ साउन २९ गतेको फैसलाले चौधरीलाई २१ वर्ष ६ महिना र शेर्पालाई २० वर्ष कैद फैसला गरेको थियो । फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराएर झुम्का कारागारमा पठाइएको सुनसरी प्रहरीले जनाएको छ ।

ठाकुरको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । मृत्युपश्चात् मृतकका बुबाले इलाका प्रहरी कार्यालय दुहबीमा कर्तव्य ज्यान मुद्दामा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा २०७१ सालमा फैसला भएको थियो ।