पथरीशनिश्चरे/मोरङको पथरीशनिश्चरेबाट चित्तलसहित सोमबार २ जना सिकारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पथरीशनिश्चरे १ का २६ वर्षीय चित्रकुमार श्रेष्ठ र २१ वर्षीय विवश राई रहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

स्थानीय हरियाली सामुदायिक वन क्षेत्रभित्र प्रवेश गरी एउटा चित्तललाई पासोमा पारी घर लैजान लाग्दा चित्तलसहित उनीहरूलाई नियन्त्रणमा लिएको पथरी प्रहरी प्रमुख डीएसपी दिलीपकुमार गिरीले जनाए । पक्राउ परेका सिकारी र चित्तललाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पथरीमा बुझाइएको छ ।

चित्तल मारेर लैजाने क्रममा वन हेरालुहरूले देखेर प्रहरीलाई खबर गरेका थिए । सिकारीहरूको साथबाट प्रहरीले मासु काट्ने दाउ एक थान, चित्तलको छाला काँढ्न प्रयोग गरिने कर्द एक थान, पासोको रूपमा प्रयोग गरिने स्टिलको १० मिटर डोरी बरामद गरेको छ । कोरोनाका कारण समुदायस्तरबाट नियमित रूपमा वनको गस्ती गर्न सम्भव नभएका कारण चोरीसिकारका घटनाहरू बढ्दो क्रममा रहेको हरियाली सामुदायिक वनका अध्यक्ष कावुलबहादुर मगरले बताए ।