इनरुवा/ साउन ३१ गते सुनसरी खोलामा शव भेटिएको घटना बारे प्रहरी अनुसन्धानले हत्या गरी शव फालिएको निष्कर्ष निकालेको छ ।
२९ गतेबाट हराएका भोक्राहा नरसिंह–७ का २२ वर्षीय गुणराज यादवको शव ३१ गते सुनसरी खोलामा भेटिएको थियो । ३० गते धानबारीमा रगतसहित शङ्कास्पद वस्तुहरू देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपश्चात् शुरु गरेको अनुसन्धानबाट यादवको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको हो ।
घटनाको शुरुवाती अवस्थाबाटै अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक सरोज खनालसहितको टोलीले यादव हत्यामा संलग्न ५ जना युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले उनीहरूलाई सार्वजनिकसमेत गरेको छ ।
प्रहरीले हत्यामा संलग्न भएकाहरूलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरिसकेको जनाएको छ । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार गुणराजको हत्यामा दिनेश महतो, पप्पु राम, शिवकुमार मेहता, दीपककुमार यादव र प्रदीप रामको संलग्नता देखिएको छ । उनीहरू मिलेर गुणराजको विभत्स हत्या गरेको प्रहरीको ठहर छ ।

प्रहरी अनुसन्धानपछि हत्यामा संलग्नहरू सार्वजनिकसँगै कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा मृतक गुणराजको शव विभत्स हत्यापछि बोरामा हाली ढुङ्गासमेत राखी बाँधेर खोलामा फालिएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, गुणराज यादव २९ गते दिउँसो साथी शिवकुमार मेहतासँग घरबाट इनरुवा बजार गएका थिए । साँझपख दुवैले मापसे गरे र त्यसपछि शिवकुमारले गुणराजलाई इन्द्रजित यादवको घर पु¥याएर फर्किए ।
इन्द्रजितको घरमा केही समय बिताएका गुणराज त्यसपछि घर जान भनी हिँडेकोमा ३ सय मिटर पर घन्सी बारीमा लुकेर बसेका पप्पु, दीपक, प्रदीप, शिव र दिनेश समेतले संवेदनशील अङ्गमा हिर्काउनुका साथै गुणराजउपर कुटपिट गरे ।
हात खुट्टा बाँधेर बाँसले टाउकोमा हिर्काएर नाइलनको डोरीले घाँटी बाँधी विभत्स हत्यापछि ढुङगासहित बोरामा हालेर बाँधी सुनसरी खोलामा फालेको अवस्थामा शव भेटिएको हो । सुनसरी प्रहरीका प्रमुख कमल थापाका अनुसार हत्या भएको स्थानमा प्लाष्टिक डोरी, चप्पल, पप्पु सिंह लेखिएको हातमा लगाउने माला, प्रदीपको चुँडिएको मालाका दाना र मृतकको औंठी भेटिएको थियो । सोही आधारमा अनुसन्धान अघि बढाउँदा हत्यामा संलग्न भएकाहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार गुणराजको हत्या हुनुमा प्रेम सम्बन्ध प्रमुख कारक देखिएको छ ।