कालाबञ्जार/ सुनसरीको वराहक्षेत्र नगरपालिकामा एकै दिन चार घरमा चोरी भएको प्रहरीले जनाएको छ । वराहक्षेत्र–७ नम्बर वडाका चार घरमा पानी तान्ने मोटरलगायत चोरी गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
आइतबार निर्माणाधीन घरको ट्युबेलमा जोडिएको दुई थान पानी तान्न प्रयोग गरिएको मोटर चोरी भएको छ । त्यस्तै मीना खड्काको घरको पूर्वपट्टिको पर्खाल फोडेर स्टिल दराज र पलङ फोडी चोरी गरेको प्रहरीले जनाएको छ ।
इप्रका महेन्द्रनगरका इन्स्पेक्टर पाण्डव राजवंशीका अनुसार विष्णु राई, दलिता सुनुवार, सुनी परियार र मीना खड्काको घरबाट सामग्री चोरी भएको हो । खड्काको घरबाट चोरी भएको सामग्रीको हालसम्म पहिचान हुन सकेको छैन ।
स्थानीय कृष्ण बस्नेतले चोर टाढाको नभई स्थानीय नै कोही हुनुपर्ने दाबी गरे । प्रहरीलाई यस विषयमा निवेदन दिएर चोर पत्ता लगाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन् । गत वैशाख १० गते पनि वराहक्षेत्र–५ कालाबञ्जारमा मीना गौतम कट्वाल, सुनिता घिमिरे, रोम निरौलाको घरमा एकै दिन चोरी भएको थियो ।

त्यो बेलामा चार घरमा चोरी हुँदा पानी तान्ने मोटर नै चोरी भएको थियो । त्यो बेलामा कट्वाल र घिमिरेको एक–एक थान पानी तान्ने मोटर र निरौला दाजुभाइको एक–एक थान साइकल चोरी भएको थियो ।
हालसम्म उक्त चोरीको घटनामा आरोपितहरू पक्राउ पर्न सकेका छैनन् । त्यस्तै वैशाख ७ गते लक्ष्मीपुरका इनदल चौधरीको घरबाट स्थानीय प्रजातिको कुखुरा चोरी भएको थियो । त्यस्तै निर्माणाधीन घरको ३ थान झ्याल र एक थान ढोकाको चौकस पनि चोरी भएको थियो ।