विराटनगर । भारतदेखि तस्करी गरि विराटनगर ल्याएको सिद्रा माछा प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी रानी बिओबीले बिहीबार बिहान तस्करीको १८ बोरो सिद्रा माछा विराटनगर १६ दरैयास्थितबाट बरामद गरेको हो ।

प्रहरीले बरामद गरेको सिद्रा ६ सय ३० केजी रहेको छ । बरामद गरेको सिद्राको मूल्य १ लाख ८९ हजार रहेको छ । सशस्त्र प्रहरीले बरामद गरेको सिद्रा माछा बिहीबार विराटनगर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल मोरङका एसपी तीर्थ पौडेलले जानकारी दिए ।

‘तस्करी गरि ल्याएको माछा ‘गस्तीमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो,’ एसपी पौडेलले भने, ‘प्रहरीलाई देख्नसाथ माछा छोडेर फरार भए । प्रहरीले उनीहरूको खोजी कार्य जारी राखेको छ ।’ प्रहरीको आँखा छल्न रातीको समयमा भारतदेखि सिद्रा माछा ल्याएका थिए ।

कोरोनाको कारणले सरकारले भारतदेखि माछा, कुखुरालगायत पशुपन्छी आयातमा पूर्ण रुपमा अहिले रोक गरेपछि भारतीय माछाको तस्करी बढेको छ । भारतको आन्ध्र प्रदेशबाट माछा र सिद्रा ल्याइन्छ ।

सशस्त्र प्रहरीले बरामद गरेको सिद्रा माछा विराटनगर र सुनसरीको इनरुवाका माछा व्यापारीले ल्याएको बुझिएको छ । बरामद भएको सिद्रा माछा भारतदेखि निलम सहनीले पठाएको स्रोतले जानकारी दिएको छ । भारतको जोगवनिस्थत टिकुलीबस्ति स्थित घर भएकी सहनी माछाको कारोबार गर्दै आएकी छिन् ।

सहनीले यसअघि पनि भारतबाट अवैध रूपमा माछा पठाउँदा मोरङका तत्कालिन डिएसपी घनश्याम श्रेष्ठले विराटनगरको रोडशेष चौकबाट बरामद गरेका थिए । अवैध रुपमा आएको माछा बरामद गर्दा त्यसबेला सहनिसहित केही माछा व्यापारीले प्रहरीले ५० हजार रुपैयाँ पैसाँ मागेको आरोप लगाएका थिइन् । माछा बरामद गरेर प्रहरीको गाढीमा हाल्दा व्यवसायीहरूले सडकमा फालेर विरोध जनाएका थिए ।

त्यस घटनामा प्रहरीलाई गालीलौज गरेको आरोपमा विराटनगरका चार जना माछा व्यापारीलाई प्रहरीले पक्राउ गरि ‘अभद्र व्यवहारको मुद्दामा’ म्याद थप गरेको थियो । त्यस घटनामा प्रहरीले सहनीलाई पनि प्रतिवादी बनाएको थियो । सहनी हालसम्म पनि फरार छिन् । अरु चार जिल्ला प्रशासन कार्यालय मोरङले तोकेको धरौटि रकम बुझाएर रिहा भएका थिए । सहनी भारतमा बसेर नेपालमा तस्करीको माछा विराटनगरसहित पूर्वको विभिन्न सहरमा सप्लाई गर्ने गरेको बुझिएको छ ।

‘त्यसबेलामा पनि प्रहरीले सहनीलाई पक्राउ गर्न धेरै प्रयास गरेको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘सहनीको खोजी कार्य तिव्र बनाएको भए पनि भारतमा लुकीछुपी बस्दै आएकोले प्रहरीले उनलाई पक्रिन सकेको छैन ।’
क्याप्सन् ः
सशस्त्र प्रहरीले बरामद गरेको सिद्रा माछा ।
तस्विर सौञ्जयन ः पवन साह