सिरहा । सिरहामा प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ परेको छ ।
सिरहामा प्याजको कालोबजारी शुरु भएपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा प्याजको कालोबजारी गर्ने सिरहाका विभिन्न स्थानको तीन वटा पसल सील गर्दै त्यसका सञ्चालकलाई पक्राउ गरेको छ ।

सिरहा जिल्लाको गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका र लहान नगरपालिकाको पसल तथा गोदामबाट प्याज कालोबजारी भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान,जिल्ला प्रहरी कार्यालय मिर्चैया, उद्योग व्यापार सङ्घका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिसहितको अनुगमन टोलीले विक्री वितरणका लागि राखिएको ७ हजार ४ सय ४० किलो प्याज सहित पसल सञ्चालकहरुलाई पक्राउ गरेको हो ।

टोलीले प्याजमा कालोबजारी गरेको आरोपमा गोलबजार नगरपालिका वडा नं.४ स्थित जयलक्ष्मी सब्जी भण्डारका सञ्चालक मिर्चैया नगरपालिका वडा नं.५ बस्ने बर्ष ४४ को उमेशप्रसाद साह,मिर्चैया नगरपालिका वडा नं.५ स्थित जयमाता दी सब्जी भण्डारका सञ्चालक विनोद कुमार साह र लहान नगरपालिका वडा नं.३ स्थित गङ्गा ट्रेडर्सका सञ्चालक रामनारायण नायकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाशंकर पंजियारले बताए ।