धरान । धरान–८ बरगाछीस्थित ग्रिल कम्पनीमा काम गर्दै आएका झापा माईधारका २१ वर्षीय सन्तोष दर्नाल गत मङ्गलबार धरान–१८ स्थित सोलुखुम्बु होटलमा मृत अवश्थामा फेला परे ।

ईलाका प्रहरी कार्यालय धरानले मृतक सन्तोषले भर्खर विवाह गरेकी श्रीमतीको अर्को श्रीमान र बच्चा समेत रहेको थाहा पाएपछि आत्महत्या गरेको निष्कर्ष निकालेको छ ।

प्रहरीका अनुसार सन्तोषले एक महिनाअघि सीता श्रेष्ठसँग विवाह गरेको भनेर आफ्नो परिवारलाई जानकारी दिएका थिए । धरान–१८ स्थित सोलुखुम्बु होटलमा सन्तोष र सीता केही दिनदेखि बस्दै आएका थिए । धरान ८ बरगाछीका २१ वर्षीया कञ्चन र २४ वर्षीया सुस्मिता श्रेष्ठपनि उनीहरुसँगै होटलमा बसेका थिए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत भन्छन्, ‘सन्तोष र सीता होटलमा बसेको भोलिपल्ट दुई जना युवतीपनि गएर छुट्टै कोठामा बसेका रहेछन् । उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा सीताको पहिले नै विवाह भईसकेको र बच्चा समेत भएको थाहा पाएपछि समस्या भएको देखिन्छ ।’

प्रहरीले तीनै जना युवतीलाई सोधपुछ पछि छाडिदिएको छ । मृतक सन्तोषको शव पोष्टमार्टमपछि उनका आफन्तले जिम्मा लिएर दाहसंस्कार गरिसकेको प्रहरीले जनाएको छ ।