धरान । कसैले तपाईंलाई ‘एक करोडको चिठ्ठा पर्यो, त्यो रकम पाउन पहिला कर बापतको पैसा पठाउनुस्’ भनेर इमो वा भाइबरमा फोन वा म्यासेज पठाएको छ ?
यस्तो म्यासेज वा फोनको भरमा पैसा पठाउँदा कति जनाको लाखौं रुपैयाँ ठगिएको छ । धरानमा पनि कतै काट्दै नकाटेको चिठ्ठा परेको लोभमा ठगिनेहरु थुप्रै छन् । समाजमा यस्ता घटना बढ्न थालेपछि नेपाल प्रहरीले समुदायमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।
शुक्रबार धरान–१७ स्थित रेल्वेचोकमा प्रहरीले सामाजिक सञ्जाल मार्फत बढिरहेको साईबर क्राइम बारे स्थानीयलाई सचेत गरायो । ईलाका प्रहरी कार्यालय धरानले आयोजना गरेको कार्यक्रममा असई बिपेस कुमार देवले स्थानीयलाई सचेत गराउँदै भने,‘सामाजिक सञ्जाल प्रयोग गर्दा सजग हुनुपर्छ, अपरिचित व्यक्तिलाई साथी बनाउनु हुँदैन ।’ कार्यक्रममा सहजीकरण गर्दै उनले थपे, ‘समाजमा यस्ता आपराधिक गतिविधि भए प्रहरीलाई खबर गरिदिनुस् ।’
कार्यक्रममा रेल्वे अस्थायी प्रहरी चौकीका इन्चार्ज असई सुन्दर श्रेष्ठ, जनप्रतिनिधि, नागरिक समाज, विभिन्न संघ संस्थाका प्रतिनिधि र स्थानीय वासिन्दा लगायतको सहभागीता थियो ।

ईलाका प्रहरी कार्यालय धरानले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत असोज महिनामा धरानका ७ स्थानमा विभिन्न कार्यक्रम गर्ने भएको छ । यसअघि असोज ४ मा धरान–१५ मा मादक पदार्थ सेवन नियन्त्रण सम्बन्धि कार्यक्रम गरेको थियो । यसपछि असोज १७ गते धरान–१ र धरान १५ मा सडक सुरक्षा सम्बन्धि सचेतना कार्यक्रम, असोज १७ मै धरान ३ मा सरसफाई कार्यक्रम, २१ गते धरान ९ मा कोरोना महामारी बारे सचेतना कार्यक्रम, असोज २९ गते धरान १९ मा चोरी सम्बन्धी सचेतना कार्यक्रम गरिने इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
समाजमा विभिन्न खाले अपराधहरु बढेपछि त्यसको नियन्त्रणका लागि प्रहरी प्रधान कार्यालयको कार्यक्रम अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीले तयार पारेको सामुदायिक वार्षिक कार्ययोजना अन्तर्गत यस्ता कार्यक्रम सञ्चालन गरिएको डिएसपी बस्नेतले जानकारी दिए ।