उदयपुर । उदयपुरको विभिन्न ठाउँमा अवैध रूपमा लगाइएका र आफै उम्रिएका गाँजा प्रहरीले नष्ट गरेको छ ।
बेलका नगरपालिका–७ को १ सय ७७ रोपनी क्षेत्रफलमा लगाइएका र आफै उम्रिएका गाँजा फडानी गरी जलाएर नष्ट गरेको हो । असोज २६ गते जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएका संयुक्त प्रहरी टोलीले गाँजा नष्ट गरेको हो । टोलीले बेनपा–७ मा २९ हजार ९ सय ५ बोट गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
त्यस्तै प्रहरी चौकी रूपाटारबाट खटिएका प्रहरी टोलीले ताप्ली गाउँपालिका–५ मा आफै उम्रिएका १ हजार ५ सय बोट गाँजा नष्ट गरेको छ । प्रहरी चौकी रामपुर झिल्केबाट खटेको प्रहरी टोलीले ताप्ली गाउँपालिका–३ इनामेमा ४० बोट गाँजा नष्ट गरेको जिप्रका उदयपुरले जनाएको छ ।