धरान । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा निलम्बनमा परेका प्रहरी अधिकारीको निलम्बन फुकुवा भएको छ ।

यो प्रकरणमा हालसम्म प्रहरीले आरोपीलाई नियन्त्रणमा लिन सकेको छैन । घटना २०७५ साउन १० गते हो । घटनापछि देशविदेशमा समेत व्यापक विरोध भएको थियो । बलात्कारको घटनामा त्यसपछि नै मृत्युदण्डको सजाय दिनुपर्ने माग जबर्जस्त रूपमा उठ्दै आएको छ ।

निलम्बन फुकुवा हुनेमा तीन जना प्रहरी अधिकारी छन् भने तीन जनाले अनिवार्य अवकाश पाइसकेका छन् । बलात्कारपछि निर्मम हत्या भएकी पन्त प्रकरणमा पीडित परिवारले हालसम्म न्याय महसुस गर्न सकेका छैनन् । गृहमन्त्रालयले निलम्बन फुकुवा गरेको पत्र प्रहरी प्रधान कार्यालय नक्सालमा पठाएको छ ।

जसमा निलम्बित डिएसपी अंगुर जिसीसहित सइ र एक जना प्रहरी जवान छन् । सइ रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदको निलम्बन फुकुवा गरिएको हो । अनिवार्य अवकाश पाएका डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्र खड्का र सइ हरिसिंह धामी छन् । उनीहरूको निलम्बन फुकुवा गर्नु पर्दैन । अनिवार्य अवकाश पाएकाले पेन्सन लगायतको सुविधा प्राप्त गर्नेछन् ।

अब भने डिएसपी जिसी र अन्य दुई कर्मचारीले नियमित काममा फर्किने तयारी गरेका छन् । अदालतले सफाइ दिए पनि प्रहरी नियमावली संशोधन नहुँदा उनीहरूको निलम्बन फुकुवा हुन सकेको थिएन । असोज ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गरेपछि निलम्बन फुकुवाका लागि सहज बनेको हो ।

बर्खास्तमा परेका तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टको भने मन्त्रिपरिषद्को बैठकले मात्रै पुनर्वहाली गर्न सक्नेछ । उनीहरूले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषद्को बैठकमा पुनरावेदन गरिसकेका छन् । हालसम्म निर्णय भएको छैन ।