भण्टाबारी । चाडपर्व नजिकिएसँगै सीमा क्षेत्रमा हुने तस्करी थप बढ्दो क्रममा रहेको पाइएको छ ।
खुला सीमाको फाइदा उठाउँदै तस्करी नियन्त्रणको सट्टा बढिरहेको छ । स्थानीय नागरिकले प्रहरीको संलग्नता मै तस्करी भएको आरोप लगाउँदै आएका छन् । यता सीमामा खटिएका प्रहरीले भने सीमा क्षेत्रमा हुने तस्करीलाई निस्तेज पार्दै आएको दाबी गरिरहेका छन् ।
कोरोना भाइरस महामारीका कारण अहिले सीमा सिल छ । तर, पनि नियमित तस्करी नरोकिएको स्थानीय खुर्सिद आलमले जानकारी दिए । रातको समयमा दर्जनौं संख्यामा सामान ओसारपसार हुने गरेको उनले दाबी गरे ।
सादा पोसाकमा खटिएका प्रहरीहरूले तस्करीमा संलग्नहरूलाई सघाउने गरेको बताएका छन् । तस्करहरूले साप्ताहिक तथा दैनिक रूपमा नजराना बुझाउने गरेका कारण नै प्रहरीले सामान ओसार पसार भए पनि थाहा नपाएजस्तो गर्ने गरेको स्थानीयको बुझाइ छ ।

जिल्लाबाट भारततिर बढी हरियो तथा सेतो मटर, मदिरा, मरिच तस्करी हुने गरेको छ । त्यस्तै चौपाया पनि तस्करी हुने गरेको छ । उताबाट भने खाद्यान्नलगायत मदिरा र गुटखाजन्य सामग्री तस्करी हुने गरेको छ । प्रहरीले यसबारे खुलेर बताएका छैनन् ।