भण्टाबारी । प्याज भन्दै भारतीय बजारबाट लुकाएर ल्याइएको पटका सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । सुनसरीको कोशी गाउँपालीका वार्ड नम्बर १ स्थित भण्टाबारीबाट सशस्त्र प्रहरीले बिहीबार पटका बरामद गरी नष्ट गरेको हो ।

प्याजमा लुकाएर भारतीय बजारबाट चोरबाटो हुँदै नेपाल भित्र्याइएको ४५०० सय बराबरको विभिन्न प्रकारका पटका बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल बिओपी भण्टाणारी इन्स्पेक्टर भुवन खड्काले जानकारी दिए । बरामद गरिएको पटाका स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी,संचारकर्मी लगायतको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको थियो ।

चाडपर्व नजिकै गर्दा जिल्लाको सीमावर्ती क्षेत्र हुँदै भारतीय बजारबाट लुकिछिपि पटाकाजन्य पदार्थको तस्करी हुने क्रम बढेको पाइन्छ । दुईदिन अघि समेत सशस्त्र प्रहरीले हरिनगर गाउँपालीका क्षेत्रबाट करिब ५० हजार बराबरको पटका बरामद गरी नष्ट गरेको थियो । चाडपर्व नजिकिदै गर्दा यस्ता वस्तुको अवैध पैठारी बढ्न सक्ने भन्दै निगरानी बढाएको प्रहरी बताउँछ ।

खासगरी तिहारका लागि भन्दै भारतीय बजारबाट वर्षेनि लाखौं मुल्य बराबरको पटका नेपाल भित्रीने गरेको छ । भारतीय कारोबारीले भरियामार्फत पटकाजन्य पदार्थ नेपाल पठाउने गरेका छन् । यसरी भित्र्याइने विभिन्न प्रकारका पटकाजन्य पदार्थ राजधानी काठमाडौसहितका ठाउँमा पठाउने गरिएको बताइन्छ ।